बाढीले क्षति पुर्‍याएकाे बीपी राजमार्ग पुन: निर्माणका लागि तीन खण्डको ठेक्का आह्वान

 चैत २५, २०८१ सोमबार १५:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – असोज दोस्रो हप्ता रोसीखोलामा आएको बाढीले क्षति पुर्‍याएकाे बीपी राजमार्गको सडक पुन: निर्माणको लागि तीन खण्डको ठेक्का आह्वान भएको छ । कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेकोमा तीन खण्डको लागि ठेक्का आव्हान भएको हो ।

डिभिजन सडक भक्तपुरले काभ्रेतर्फको तीन खण्डमध्ये दुई खण्ड पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । राजमार्गको अलि बढी मोड र अप्ठ्यारो रहेको बर्खेखोलादेखि डालाबेँसीसम्मको साढे ५ किलोमिटर सडक पुन: र्निर्माणका लागि जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग छलफल भएको र जाइकाले स्थलगत अध्ययन गर्न लागेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

सिन्धुलीतर्फको एक खण्डका लागि पनि सूचना प्रकाशित भएको छ । क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि सरकारबाट आठ अर्ब ५० करोड रुपैयाँ बजेट सुनिश्चितता भएको छ । त्यसबाट काभ्रे जिल्लातर्फ तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुली खण्डका लागि एक अर्ब रुपियाँ बजेट विनियोजन भएको छ ।

सडक पुन: र्निर्माणका लागि सूचना प्रकाशित गरिएका सडक खण्डमा जेठ पहिलो हप्तासम्म सम्झौता गर्ने लक्ष्य रहेको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । ठेकेदारले काम शुरु गर्दा वर्षा लागिसक्ने भएकोले आउँदो मनसुनको समयमा गाडी चलाउन डिभिजन सडक कार्यालय भक्तपुरले अस्थायी सडकको उचाइ बढाउने काम गरिरहेको छ । अहिले दैनिक ३७ वटा उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको उहाँले बताउनुभयो । खोलाको बहाव परिवर्तनका साथै सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाउने काम भइरहेको छ ।  

अन्तिम अपडेट: चैत २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया