प्राइम सीएकाे २१औं वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम स...
चैत ३१, २०८१ आइतबार
नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९ बजेदेखि सञ्चालनमा आएको हो ।
विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । गत पुस २६ गते भारतीय ठूलो ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाइएको डाइभर्सन खोलाले बगाएपछि हिजो दिनभर सडक अवरुद्ध भएको थियो । बाढीले डाइभर्सन नै बगाएपछि सयौँ यात्रु तथा गाडी बीच बाटोमा अलपत्र परेका थिए ।
डाइभर्सन नहुँदा नारायणगढ–बुटवल भएर चल्ने गाडी पूर्ण रूपमा अवरुद्ध भएका थिए भने अत्यावश्यक साधनलाई होङ्सी सिमेन्ट उद्योगको बाटो भएर आवतजावत गराइएको थियो । दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार भइरहेको अवस्थामा बिहीवार बिहान परेको वर्षाले सडक हिलाम्य भएपछि यस क्षेत्रको आवागमन अस्तव्यस्त बनेको छ ।
दाउन्ने क्षेत्रमा हिलो माटो हटाएर केही सहज बनाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो । यस क्षेत्रमा गएको बुधवारदेखि आजसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरेर मर्मत शुरु गरिएको छ । यसैगरी भोलिदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर बिस्तारको तयारी गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।