अमेरिकाले यमनमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जना आप्रवासीक...
बैशाख १५, २०८२ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा शिक्षा आयोगको १९औं बैठकले निजी मेडिकल कलेजले आवासीय डाक्टरका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने तथा आवासीय डाक्टरले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ ।
आयोगको गएकाे माघ २५ गते बसेको १६औं बैठकले निजी मेडिकल कलेजले सरकारीसरह पीजीका आवासीय डाक्टरलाई मासिक ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबीबीएस तथा बीडीएसको सिट सङ्ख्या र शुल्क संरचना पुनरावलोकन गर्न गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवेदन स्वीकार गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीसमक्ष कार्यदलका संयोजक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले प्रतिवेदन हस्तान्तरण गर्नुभयो । प्रतिवेदनले चिकित्सा शिक्षा ऐन २०७५ को व्यवस्थाबमोजिम प्राविधिक समिति गठन गरी स्तर र मापदण्ड निर्धारणका अधारमा सिट सङ्ख्या तथा शुल्क पुनरावलोकनका लागि बाटो खुलेको छ । त्यसका लागि ऐनबमोजिम आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका प्रा. डा. सुजनबाबु मरहट्टाको संयोजकत्वमा प्राविधिक समिति गठन भएको छ । समितिमा विज्ञका तर्फबाट प्रा. डा. दिव्या सिंह शाह, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाईं, निजी मेडिकल कलेजका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट सन्तोष खनाल, शिक्षा, स्वास्थ्य र अर्थ मन्त्रालयका उपसचिवहरू रहनेछन् ।
एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले स्रोतको सुनिश्चितता नभएकाले आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउन आनाकानी गरेपछि प्रधानमन्त्री ओलीको अग्रसरतामा यसबीचमा आयोगका तीन बैठक बसी समाधान निकालिएको हो । बैठकपछि आयोगका सहअध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी मेडिकल कलेजले १६औं बैठककै मितिदेखि निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेकाले आवासीय चिकित्सक आन्दोलनबाट फिर्ता हुनुपर्ने बताउनुभयो । उहाँले शुल्क पुनरावलोकनका लागि पनि प्रक्रिया शुरू हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।