सिंहदरबारको पश्चिम भागलाई पनि रेट्रोफिटिङ गरेर संरक्षण गरिने

 चैत १९, २०७५ मंगलबार २०:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ अर्थात प्रबलीकरण गरेर संरक्षण गर्ने भएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो अध्ययनले रेट्रोफिटिङ गरेर अझै बलियो बनाउन सकिने देखाएकाले प्राधिकरणले पश्चिम भागको रेट्रोफिटिङ गर्ने गरी प्रकृया अघि बढाएको जानकारी दिनुभयो ।

सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा रेट्रोफिटिङ कार्य भइरहेको छ । अध्ययनले सिंहदरबारको मुख्य पर्खालहरुमा ठूलो क्षति नभएको, प्रयोग भएका इँटाहरु बलियो रहेको, केही काठहरु भने फेर्नु पर्ने देखाएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरातात्विक सम्पदा संरक्षणको अवधारणा अनुसार सिंहदरबारको रेट्रोफिटिङ गर्ने जानकारी दिनुभयो । उहाँले रेट्रोफिटिङको डिजाइन समेत प्राप्त भइसकेकाले प्रकृया छिट्टै अघि बढ्ने बताउनुभयो ।

प्रतिनिधिसभा रहेको संसदकाे पुरानो भवनलाई भत्काएर नयाँ बनाउन सुझाव आएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानो भवनलाई रेट्रोफिटिङ गरेर संरक्षण गर्ने कि नयाँ संरचना बनाउने त्यसबारे सुझाव दिन सांसदहरुलाई आग्रह गर्नुभयो । उहाँले परराष्ट्र मन्त्रालयबाट स्टेट हलका रुपमा कार्यक्रम अघि बढाउन सुझाव आएको जानकारी पनि दिनुभयो ।

सांसद गणेश पहाडीले संसदको पुरानो भवनलाई रेट्रोफिटिङ गर्नु भन्दा भत्काएर अन्तरार्ष्ट्रिय स्तरको बनाउन सुझाव दिनुभयो । बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा हालसम्म भएका उपलब्धिहरु र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

समिति सभापति कल्याणी खड्काले पछिल्लो समय पुनर्निर्माणको कामहरु देखिने गरी भइहरेको बताउँदै गुनासो सम्बोधन, गुम्बा पुनर्निर्माण लगायतलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभयो ।

बैठकमा सांसदहरुले गुनासो सम्बोधन, गुम्बा पुनर्निर्माण, बस्ती स्थानान्तरण, पुनर्निर्माणको बजेट, सडक पुनर्निर्माण, खानेपानी, जीवीकोपार्जन, विद्यालय पुनर्निर्माण, सम्पदा पुनर्निर्माण लगायतबारे जिज्ञासा राख्नु भएको थियो ।
 

अन्तिम अपडेट: चैत १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया