आबुधाबीमा ट्याक्सी दुर्घटना हुँदा दुई नेपालीको मृत्यु, दुई घाइते

 चैत २२, २०७५ शुक्रबार १६:३२:१२ | उमाकान्त पाण्डे

यूएई – संयुक्त अरब इमिरेट्स यूएईको आबुधाबीमा ट्याक्सी दुर्घटना हुँदा दुई जना नेपालीको ज्यान गएको छ । ट्याक्सीमा रहेका अरु दुई नेपाली घाइते भएका छन् । 

गएको आइतबार राती १२ बजे भएको दुर्घटनामा परेर ज्यान गुमाउनेमा नवलपरासी कावासोती रामनगरका निरोज परियार र  शान्ति विक रहेका छन् । शान्तिको भने ठेगाना खुल्न सकेको छैन ।

दुर्घटना गएको आइतबार राती १२ बजे आबुधाबीको साविया ९ नम्बरमा भए पनि दुर्घटनाबारे मंगलबार मात्रै कम्पनीले जानकारी पाएको जनाएको छ ।   

ट्याक्सी चालक र ट्याक्सीमा सवार अन्य एक जनाको परिचय पनि खुलेको छैन । घाइतेहरुको अहिले आबुधाबी स्थित खालिफा अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको छ । 

निरोज आबुधाबीको साबियामा रहेको युनिभर्सल हस्पिटलको फार्मेसी शाखामा कार्यरत थिए । 

२६ वर्षिय निरोज परियार ड्युटी सकिने समयमा हस्पिटलमै उपचारका लागि आएकी नेपाली महिला शान्ति विकलाई बिन जायद सिटीमा छोड्न आफ्ना एक जना साथीसँग गइरहेका थिए । 

जायाद सिटी जाँदै गर्दा उहाँहरु चढेको ट्याक्सीलाई पछाडीबाट अर्को कारले ठक्कर दिँदा दुर्घटना भएको स्थानीय प्रशासनले बताएको आबुधाबीमा कार्यरत निरोजका काका ज्योतिलाल परियारले उज्यालोलाई जानकारी दिनुभयो । 

शव आबुधाबीकै खालिफा अस्पतालमा राखिएको परिवारले जनाएको छ । ड्युटी गएको छोरो दुई दिनसम्म कोठामा नफर्किएपछि कम्पनी र आफूहरुले प्रहरी रिपोर्ट गर्दा मात्रै दुर्घटनाबारे खबर पाएको ज्योतिलालले बताउनुभयो । 

मृतक निरोजका बुवा छविलाल परियार समेत यूएईको दुबईमा नै कार्यरत हुुनुहुन्छ । दुर्घटनाबारे आबुधाबीमा रहेको नेपाली दूतावासलाई बिहीबार साँझसम्म कुनै जानकारी नआएको र जानकारीमा आएपछि अस्पताल तथा प्रशासनको सहयोगमा अन्य विवरण बुझेर आवश्यक प्रकृया चालिने नियोग उपप्रमुख तथा प्रवक्ता सागरप्रसाद फुयाँलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया