उज्यालोको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरको आज स्थापना दिवस

 बैशाख १६, २०७६ सोमबार ६:२८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनको सञ्चालक संस्था कम्यूनिकेसन कर्नर स्थापना भएको २० वर्ष पूरा भएको छ ।

शिक्षा, सूचना र जानकारीमार्फत नागरिकको सशक्तिकरणमा जोड दिने, गाउँ र नागरिकका समस्या र उपलब्धिसँगै राष्ट्रिय चासो र सरोकारमा बहस गर्ने तथा गाउँ र केन्द्रबीच अन्तरक्रियाको वातावरण बनाउने उद्देश्यले विक्रम संवत २०५५ साल वैशाख १६ गते कम्यूनिकेसन कर्नरको स्थापना भएको हो । 

स्थापना हुनुअघि नै कम्यूनिकेसन कर्नरले खोजखबर कार्यक्रमबाट रेडियो पत्रिकाको शुरुवात गरेको थियो । खोजखवर जस्तै कम्यूनिकेसन कर्नरले प्रसारण गरेको हाकाहाकी, बराबरी, कुरा खस्रा मीठा जस्ता कार्यक्रम निकै लोकप्रिय थिए ।

२०५७ भदौदेखि उज्यालोको सबैभन्दा लोकप्रिय कार्यक्रम कायाकैरन सुरु भयो । सुरुमा अडियो क्यासेट, इन्टरनेट, टेलिफोन हाइब्रिडबाट प्रसारण हुने कायाकैरन अहिले स्याटेलाइट प्रविधिमार्फत देशभरका विभिन्न एफएम रेडियोबाट प्रसारण हुन्छ । 

कम्यूनिकेसन कर्नरको यात्रासँगै नेपालमा स्वतन्त्र एफएम रेडियो स्टेशनहरुको प्रसारणले दुई दशक पूरा गरेको छ । बितेका दुई दशकमा देशमा भएका राजनीतिक परिवर्तन, सामाजिक अभियान तथा आर्थिक आरोह अवरोहका हरेक क्षणमा नेपालका स्वतन्त्र रेडियो स्टेशनले महत्वपूर्ण भूमिका खेलेका छन् ।

देशमा परिवर्तन भएको शासन व्यवस्था, शासकीय संरचना, द्रुतगतिमा भैरहेको बजार र मिडिया प्रविधिको अकल्पनीय विकास र परिवर्तनले नयाँ नयाँ अवसरका ढोकाहरु खुलेका छन् भने अनेक खालका चुनौतीहरु पनि थपिएका छन् । 

यातायातको असुविधा, भौगोलिक विकटता र सञ्चार सुुविधाको अभावले गर्दा गाउँघरमा ताजा समाचार पु¥याउने काम दुई दशकअघि आज जस्तो सजिलो थिएन । यस्तै असजिलोमा पनि कहिले स्थल र हवाई यातायातबाट र कहिले टेलिफोनबाट कम्यूनिकेसन कर्नरले रेडियो कार्यक्रमहरुको निर्माण र वितरण सुरु गर्यो । 

२०६० साल माघ १२ गतेदेखि कम्यूनिकेसन कर्नरले सूचना र समाचारमूलक कार्यक्रमहरु स्याटलाईट अडियो च्यानलबाट वितरण गर्न थाल्यो । काठमाण्डौमा तयार पारिएका रेडियो कार्यक्रमहरु देशभर एकसाथ प्रसारण हुन थाले । सुरु गर्दा २०६० सालमा कम्यूनिकेसन कर्नरले उत्पादन गर्ने रेडियो कार्यक्रमहरु स्याटलाईट मार्फत् १० वटा एफ.एम. स्टेशनबाट बज्थे । 

२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन हातमा लिने बित्तिकै संचारमाध्यममा लागेको अंकुशबाट कम्यूनिकेसन कर्नर सबैभन्दा पहिलो प्रहारमा पर्‍यो । सूचना तथा सञ्चार मन्त्रालयले कम्यूनिकेसन कर्नरको स्याटलाईट प्रसारणमा रोक लगायो । एक वर्षभन्दा बढी स्याटलाईट प्रसारण बन्द नै भयो । 

२०६२–०६३ को जनआन्दोलनबाट लोकतन्त्र स्थापना भएपछि कम्यूनिकेसन कर्नरले आफ्नो प्रसारणमा अर्को फड्को मार्यो । २०६३ चैत २ गतेदेखि उज्यालो रेडियो नेटवर्क तथा स्याटेलाइटमार्फत देशभरि उज्यालोबाट नियमित १८ घण्टा प्रसारण सुरु भयो ।

रेडियो नेपालबाट खोजखवर र हाकाहाकी जस्ता रेडियो पत्रिका हुँदै विभिन्न एफ.एम. स्टेशनहरुबाट कायाकैरन, नेपाल दर्पण, नेपाल खवर जस्ता समाचारमूलक कार्यक्रम उत्पादन गरेको कम्यूनिकेसन कर्नरले अहिले आफ्नै स्याटेलाईट र एफएम स्टेशन उज्यालो रेडियो नेटवर्क सञ्चालन गरिरहेको छ । अहिले देशभरका तीनसय भन्दा बढी रेडियो स्टेशनहरु उज्यालोको नेटवर्कमा जोडिएका छन् । 

यसैगरी २०६८ साल भदौदेखि उज्यालोले अनलाइन पोर्टल ‘उज्यालो अनलाइन डटकम’ सुरु गर्यो । २०७२ माघदेखि मोवाइल एप्लिकेशन ‘उज्यालो’ समेत सुरु भएपछि उज्यालो रेडियो र अनलाइनको प्रसारण तथा प्रकाशन सहज र व्यापक हुन पुगेको छ । उज्यालोको प्रसारण इन्टरनेटबिना संयुक्त राज्य अमेरिका, क्यानाडा र अष्ट्रेलियामा टोल फ्री नम्बररमा डायल गरेर निःशुल्क सुन्ने व्यवस्था गरिएको छ ।     

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया