छात्रालाई विद्यालयमै स्यानिटरी प्याड, कक्षाकोठामा विज्ञान प्रयोगशाला !

 बैशाख २०, २०७६ शुक्रबार १८:१०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सबै विद्यालयमा निःशुल्क ‘स्यानिटरी प्याड’को व्यवस्थाका साथै कक्षाकोठामा विज्ञान प्रयोगशाला पनि निर्माण गर्ने भएको छ ।

सरकारले संसदमा पेश गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा सबै विद्यालयमा निःशुल्क स्यानिटरी प्याड र विज्ञान प्रयोगशाला निर्माण गर्ने योजना अघि सारेको हो ।

‘सबै सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गरिनेछ’ संघीय संसदमा सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भन्नुभयो, ‘विज्ञान र प्रविधिको विकास गर्न सबै सामुदायिक विद्यालयमा अनिवार्य विज्ञान प्रयोगशाला निर्माण गरिनेछ ।’

महिनावरी भएका बेला धेरै छात्रा स्कुल नजाने समस्या बढेपछि पछिल्लो समय विद्यालयमै स्यानिटरी प्याडको व्यवस्था हुनुपर्ने माग बढेको थिए । केही विद्यालयले यो कार्यक्रम शुरु पनि गरेका छन । महिनावरी भएपछि छात्रा स्कुल नआउने र कतिपयले विद्यालय नै छाड्ने ‘ड्रपआउट’ समस्यालाई समाधान गर्न पनि सरकारले स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउने योजना ल्याएको हो ।

साथै सरकारले आगामी १० बर्षमा सरकारी विद्यालयको गुणस्तर सुधार्ने अभियान पनि नीति तथा कार्यक्रममा समेटेको छ । केही दिनअघि मात्रै शिक्षा मन्त्रालयले वि.स. २०८५ सम्म सामुदायिक विद्यालय सुधार अभियान कार्यक्रम घोषणा गरेको थियो ।

यसक्रममा विज्ञान तथा प्रविधिको विकास गर्न सबै कक्षाकोणमा विज्ञान प्रयोगशालाका साथै सबै गाउँपालिकामा प्राविधिक विद्यालय स्थापना गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

बैशाख ४ गते जापानमा नेपाली विद्यार्थीले नै बनाएको ‘नानो स्याटेलाइट’ अमेरिकाबाट प्रक्षेपण भएपछि विज्ञान तथा प्रविधि विकासमा सरकारले लगानी बढाउनुपर्ने आवाज उठेको थियो ।

यस्तै दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षामा जोड दिने र विश्वविद्यालयबाट उत्पादन भएका जनशक्तिलाई नेपालमै रोजगारी दिने योजना पनि सरकारले नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्राविधिक, व्यवसायिक, जीवनउपयोगी, आधुनिक र वैज्ञानिक शिक्षालाई प्रोत्साहन गर्न आगामी बर्ष नेपालमै युवा वैज्ञानिकको सम्मेलन गर्ने योजना पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया