कोलम्बिया  भर्सेस इंग्ल्याण्ड: स्टार खेलाडीहरुकाे भिडन्त

 असार १९, २०७५ मंगलबार १९:४७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपमा अप्रत्यासित नतिजा आउने क्रम नकआउट चरणमा पनि जारी नै छ ।

अर्जेन्टिना, स्पेनजस्ता उपाधि दावेदार टोलीहरु बाहिरिइरहेका छन् । जर्मनीले त समूह चरण नै पार गर्न सकेन । यस्तोमा पूर्व च्याम्पियन इंल्याण्डले आज क्वार्टरफाइनल प्रवेशका लागि कोलम्बियासँग स्पार्टाक एरिनामा खेल्दैछ ।

अप्रत्यासित नतिजा ननिस्किएमा इंग्ल्याण्डको आगामी बाटो अन्य दावेदार टोलीको तुलनामा सहज देखिन्छ ।
 
समूहमा इंग्ल्याण्डले दुई खेलमा शानदार जित हासिल गरे पनि अन्तिम खेलमा बेल्जियमसँग पराजित भएको थियो । यद्यपि, प्रशिक्षक ग्यारेथ साउथगेटले पहिलो रोजाइको टोलीलाई आराम दिएका थिए ।
 
इंग्लिस डिफेण्डर डेले अलीले भनेका छन् कि बेल्जियमबिरुद्धको खेलमा दोस्रो रोजाइको टिम उतार्ने प्रशिक्षक साउथगेटको निर्णयले टिमको गति कमजोर भएको छैन ।
 
बेल्जियम र इंग्ल्याण्ड दुवै नकआउट चणमा पुगिसकेको अवस्थामा भएको खेल थियो त्यो । र अर्को के तथ्यले पनि काम गरिरहेको थियो भने समूहको उपविजेता हुँदा फाइनलसम्मको रुट तुलनात्मक रुपमा सहज थियो ।
 
अदनान जानुजाजको गोलमार्फत रोबर्टो मार्टिनेजको टोली विजयी भएको थियो ।

समूह उपविजेता हुँदा केहि हदसम्म सहज हुने देखिए पनि साउथगेटले टोलीमा ८ परिर्वतन गरेकै कारण इंग्ल्याण्डले खेल हारेको थियो र त्यस हारले उसको जितको मानसिकता परिवर्तन गर्नसक्ने आलोचनाहरु भएका थिए ।
 
तर, अलीले भने यसलाई नकारेका छन् । उनले भनेका छन् कि टिम पहिलेदेखि नै शानदार लयमा छ र त्यस हारले उनीहरुको आत्मविश्वासलाई घटाएको छैन ।
 
‘पहिलो कुरा हामीले के कुरामा प्रष्ट हुनुपर्छ भने हाम्रो सबै टिम ए टिम हो’ अलीले पत्रकारहरुसँग भने, ‘हामी सबै एकजुट भएर देशका लागि यहाँ आएका हौं ।’
 
‘मेरा साथीहरुले बेल्जियमविरुद्ध शानदार खेले । प्रशिक्षकको रणनीतिअनुसार हामी सबैले आराम गर्यौं, हामीले कुनै गति गुमाएका छैनौं ।’
 
‘हामी सबै एकजुट भएर भिडिरहेका छौं र अघि बढिरहेका छौं । हामी अर्को खेलका ब्यग्र प्रतिक्षामा छौं । महत्वपूर्ण कुरा के हो भने हामी हारका बावजुद सकारात्मक छौं । हामीलाई थाहा छ कि उनीहरु खतरनाक छन्, तर, हामी पनि कम छैनौं ।’
 
इंग्ल्याण्डले साउथगेटको आजको खेलमा आफ्नो मूख्य खेलाडीहरु उतार्नुपर्नेछ । बेल्जियमविरुद्धको खेलमा खुट्टामा चोट लागेका जोन स्टोन्स आजको खेल्न सक्नेमा आशंका छ । तर, अरु सबे खेलाडी फिट छन् ।
 
कोलम्बिया इंग्ल्याण्डका लागि एक कठिन परीक्षा हुनसक्छ । तर, दक्षिण अमेरिकी टोलीले पनि आफ्नो वास्तविक लय भेट्टाउन सकिरहेको छैन ।
 
यद्यपी उसले विश्वकपकै उत्कृष्ट टिमगेमको नमूना पेश गर्दै पोल्याण्डलाई ३–० गोलले पराजित गरेको थियो । कोलम्बिया जापानसँग २–१ गोलले पराजित भएको थियो, यद्यपी कार्लोस सान्चेस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि कोलम्बिया ८७ मिनेट १० खेलाडीमा खेलेको थियो ।

उसले अर्को  खेलमा सेनेगललाई १–० ले हराएको थियो ।
 
सेनेगलविरुद्धको खेलमा मसल इन्ज्यूरीको सामना गरेका सुपरस्टार जेम्स रोड्रिगुइजको फिटनेस कोलम्बियाको प्रमुख चिन्ताको विषय हो । यद्यपी उनको चोट गम्भीर छैन । कोलम्बियाली अफिसियलले अहिलेसम्म उनले खेल्न सक्ने नसक्ने पुष्टि गरिसकेका छैनन् ।
 
यदि रोड्रिगुइजले खेल्न सकेनन् भने अर्का स्टार फरवार्ड रामाडेल फाल्काओका लागि थप महत्वपूर्ण जिम्मेबारी हुनेछ । यद्यपी उनी एक्लो हुनेछैनन् । किनभने लुइस मोरियले कोलम्यिाको अग्रपंक्तिलाई कमजोर हुन दिने छैनन् ।
 
‘मेरा प्रशिक्षकले मलाई विशेष जिम्मेवारी दिएका छन् कि अग्रपंक्तिमा फाल्काओलाई एक्लै छाड्नुहुन्न ।’ सेभियाका स्ट्राइकर मुरियलले भने, ‘म उनीसँगै अवश्य हुनुपर्छ, किनभने चारजना डिफेण्डरविरुद्ध उनको उर्जा धेरै खर्च नहोस् । राम्रो पक्ष के छ भने हामीले एकअर्कालाई राम्रोसँग बुझिसकेका छौं कि खेलका दौरान त्यो अझै बढी हुनेछ ।’ 

प्लेयर्स टू वाच 

जुअाँ फर्नाण्डो क्वीन्टेराे - कोलम्बिया 

जारी विश्वकपमा क्वीन्टेराेले कोलम्बियाका लागि अहिलेसम्म सर्वश्रेष्ठ प्रदर्शन गरेका छन् । जेम्स साथमा हुन् वा नहुन्, रिभर प्लेट स्टार क्वीन्टेराेको सृजनशील क्षमता र सटिक पास इंग्लिस डिफेण्डरका लागि खतरनाक हुन सक्छ ।


 
ह्यारी केन - इंग्ल्याण्ड

 

 

समूह चरणमा मात्र दुई खेलमा ५ गोल, ह्यारी केन निःसन्देह इंग्ल्याण्डका प्रमुख खेलाडी हुन् ।

टोटनह्यामका स्ट्राइकर अहिलेसम्म रुपमा खतरनाक देखिएका छन्, उनी र उनका क्लवमेट डेभिनसन सान्चेसको टकराव आजको खेलमा हेर्नलायक हुनेछ ।

केनले समूहचरणमा ट्युनिसियाबिरुद्ध २ गोल गरेका थिए भने पानामाविरुद्ध ह्याट्रिक पूरा गरेका थिए ।

 म्याच फ्याक्ट्स 

– क्वीन्टेराे जारी विश्वकपमा कोलम्बियाले गरेको पाँच मध्ये तीन गोलमा प्रत्यक्ष संग्लग्न छन् । पहिलो खेलमा उनैले गोल गरेका थिए भने दोस्रो र तेस्रो खेलमा गोलका लागि पास उपलब्ध गराएका थिए ।

 – केनले विश्वकपमा अहिलेसम्म १५३ मिनेटमात्र खेलेका छन् र ५ गोल गरेका छन् । उनी ग्यारी लिनेकर (१०) भन्दा पछाडि छन् ।

यदि उनले आजको खेलमा गोल गर्न सके भने उनी सन् १९३९ पछि ६ अन्तर्राष्ट्रिय खेलमा लगातार गोल गर्ने पहिलो इंग्लिस खेलाडी बन्नेछन् । यसअघि यो कीर्तिमान टोमी लटनले राखेका थिए ।
 
– जारी विश्वकपमा कोलम्बियाले गरेको पाँच गोलमध्ये तीन गोल कर्नर फ्रिकिकबाट सम्भव भएको छ ।
 
– इंग्ल्याण्डले विश्वकपमा आफ्नो पछिल्लो ८ नकआउट खेलमा मात्र दुईवटामा जित हासिल गरेको छ ।
 
– इंग्ल्याण्डले विश्वकपको नकआउट चरणमा आफूले खेलेका १८ मध्ये एक खेलमा मात्र गोल गर्न असफल भएको छ । सन् २००६ विश्वकपको क्वार्टरफाइनलमा उसले पोर्चुगलविरुद्ध गोल गर्न सकेको थिएन ।

त्याे खेल गोलरहित बराबरीमा सकिएको थियो र पेनाल्टीमा पोर्चुगल विजयी भएको थियो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया