समृद्ध तराइ मधेस कार्यक्रम बजेटमा समावेश नभएकोमा सरकारको ध्यानाकर्षण

 जेठ १९, २०७६ आइतबार १५:४२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले समृद्ध तराइ मधेस कार्यक्रम बजेटमा समावेश नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६-७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले अहिले पनि मधेसमा सञ्चालन भइरहेको समृद्ध तराइ मधेस कार्यक्रम बजेटमा नआएको भन्दै त्यसबारे अर्थमन्त्रीसँग जिज्ञासा राख्नुभयाे ।

उहाँले सिंँचाइका लागि मधेसका गाउँ गाउँमा पोखरी रहेको भन्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेका पोखरी संरक्षण र मर्मत संभारमा ध्यान दिन सके सरकारले अघि सारेको सिंँचाइ सुविधाको कार्यक्रम सफल हुने बताउनुभयो ।

पर्यटकीय, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षणका विषय बजेटमा आएपनि सम्पूर्ण क्षेत्रलाई समेट्ने काम नभएको भन्दै उहाँले गढीमाई, सिम्रौनगढ, जलेश्वर, परौलास्थान, धनुषक्षेत्र तथा सिरहा सप्तरीका थुप्रै पर्यटकीय स्थलको संरक्षण र सम्बर्द्धनलाई समावेश गर्न आग्रह गर्नुभयो । उहाँले सौर्य उर्जाको उपयोग गरेर प्रदेश नम्बर २ लाई अन्धकार मुक्त राख्ने, भूमिगत सिंँचाइ, हुलाकी सडक लगायत विषयलाई बजेटमा प्राथमिकता दिएकोमा अर्थमन्त्रीलाई धन्यवाद दिँदै बजेट कार्यान्वयनका लागि सुझाव दिनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया