सरकारले जनमतको दुरुपयोग गरिरहेको कांग्रेस वरिष्ठ नेता पौडेलकाे भनाइ

 जेठ १९, २०७६ आइतबार १९:११:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको छ । 

वरिष्ठ नेता पौडेलले दुई तिहाइ बहुमत पाएको केपी ओली नेतृत्वको 'सरकारले अदालतलाई तर्साउने, पत्रकारहरुलाई तर्साउने तथा मानव अधिकारवादी संघ, संस्थामाथि अंकुश लगाउने' काम गरेर जनमतको द्रुपयोग गरिरहेको बताउनुभयो । 

आइतबार काठमाण्डौमा आयोजित ‘मानव अधिकार आन्दोलनको नयाँ धार’ विषयक अन्तक्रिया कार्यक्रममा उहाँले भन्नुभयाे, 'देश परिवर्तन र आन्दोलनको भावना विपरीतका गतिविधि भैरहेकोले हाम्राे पार्टीले सरकारको विरोध गर्नुपरेको हाे ।' 

नेता पौडेलले लोकतन्त्र विरोधी गतिविधिको विरोध गर्दा आफ्नो पार्टीले कम्युनिष्ट नेतृत्वको सरकारको विरोध गरेको आरोप खेप्नुपरेको गुनासो पनि गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा पूर्णरुपमा असफल भएको दावी गर्नुभयो ।

सरकारले ‘समृद्ध नेपाल सुःखी नेपाली’ बनाउने आफ्नै नारा विपरीत गतिविधि गरिरहेको महासचिव मैनालीको निश्कर्ष थियाे । महासचिव मैनालीले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकप्रति पनि आपत्ति जनाउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया