सरकारलाई नेकपा नेता रावलको प्रश्न : अमेरिकी राजदूत बेरीको विवादास्पद गफगाफ कार्यक्रम किन नियन्त्रण गर्न नसकेको ?

 जेठ २०, २०७६ सोमबार १५:२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले अमेरिकी राजदूत र्‍याण्डी बेरीका कुटनीतिक मर्यादाविपरीतका गतिविधि रोक्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । 

नेता रावलले बजेटमा राष्ट्रिय स्वाभिमानमा जोड दिए पनि व्यवहारमा सरकारले त्यहीअनुसार काम गरेर देखाउन नसकेको पनि स्पष्ट पार्नुभयो । अमेरिकी राजदूत बेरीले ‘राजदूतसँग गफगाफ’ कार्यक्रम सञ्चालन गर्नु कुटनीतिक मर्यादा विपरीत भए पनि त्यसलाई सरकारले नियन्त्रण गर्न नसकेको उहाँको भनाइ छ । 

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले भियना अभिसन्धि विपरीत अमेरिकी राजदूत बेरीले त्यस कार्यक्रम सञ्चालन गर्दा पनि किन नियन्त्रण गर्न नसकेको ? भनि सरकारलाई प्रश्न पनि गर्नुभयो ।

नेता रावलले सरकारले देश प्रेममा सघाउ पुर्‍याउने गरी पाठ्यक्रम निर्माण गर्ने व्यवस्था गरे पनि व्यवहारमा त्यस विपरीत कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएकोमा आपत्ति जनाउनु भयो । केही दिनअघि कोरियाको काङनाङ विद्यालयले त्रिभुवन विश्वविद्यालयसँग पाँच वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता गरेको थियो । त्यसप्रति नेता रावलको आपत्ति छ । विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि पनि प्रदान गरेको थियो ।

नेता रावलले बजेटमा उल्लेख गरिएका राम्रा कामलाई कार्यान्वयनमा लैजान जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया