वैचारिक द्वन्द्वमा अल्झियो नेकपा, अध्यक्षद्वयबीच असहमति बढ्दा सचिवालय बैठक सरेको सर्‍यै

 जेठ २०, २०७६ सोमबार १८:४०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकरणले अझै पूर्णता पाइसकेको छैन । एक वर्ष बितिसक्दा समेत केन्द्रीय पदाधिकारीको कार्यविभाजनदेखि पोलिटब्यूरो गठन तथा पार्टीका विभिन्न विभाग गठन गर्न बाँकी नै छ । 

पार्टी एकीकरणको एक वर्ष पुगेका दिन गएको जेठ ३ गते बल्लतल्ल जनवर्गीय संगठनहरु ब्युँताउने काम गरिएको थियो । विभिन्न २३ वटा जनवर्गीय संगठनका संयोजक र सहसंयोजक चयनको काम टुंगो लागेको छ । त्यसअघि नेकपाले जिल्ला तहको नेतृत्वका साथै प्रदेश कमिटी गठनको काम सकेको थियो । 

अब कार्यविभाजनका साथै पोलिटव्यूरो गठन गर्ने बेलामा भने नेकपाको नेतृत्वबीचमा नै चर्को असन्तुष्टिहरु देखिन थालेको छ । पार्टी नेतृत्वबीचको असन्तुष्टिकै कारण पार्टीको वैचारिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदन पनि टुंगो लाग्न नसकेको नेकपाकै नेताहरु बताउँछन् ।  

यस्तै अध्यक्षद्वयले गएको मंसिर २९ मा नै पार्टीको स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएको बताइएको थियो । तर स्थायी समितिमा छलफलपछि राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने भने पनि अझैसम्म प्रकाशित हुन सकेको छैन । 

२०७४ जेठ ३ गते तत्कालिन एमाले र माओवादी केन्द्र औपचारिक रुपमा एक भएर नेकपा घोषणा गरिएको भए पनि वैचारिक रुपमा एक हुन नसक्दा सबै काममा ढिलाइ हुँदै गएको हो ।  

तत्कालीन नेकपा निकटका नेताहरुले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद पार्टीको वैचारिक लाइन हुनुपर्ने बताइरहेका छन् भने तत्कालीन माओवादीका नेताहरु २१औँ शताब्दीको जनवादको आधारमा अहिलेको नेकपा हिँड्नु पर्ने बताउँदै आएका छन् ।  

पार्टीको वैचारिक लाइन के हुने भन्ने बारेमा पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीकै सचिवालय सदस्य ईश्वर पोखरेलबीच बेला बेला वाकयुद्ध नै चल्ने गरेको छ । 

अध्यक्ष प्रचण्डले कसैको विचारलाई भारी बोकेर हिँड्नुभन्दा अहिलेको समय र परिस्थिति अनुसार अघि बढ्नुको विकल्प नभएको दाबी गरिरहँदा पोखरेल भने भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)कै कारण पार्टी अहिलेसम्म अघि बढेको भन्दै पार्टीको वैचारिक लाइन पनि त्यही हुनुपर्ने अड्डी कस्छन् । 

प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीको वैचारिक लाइन जबज नै हुने भनेर शनिबार पोखरामा आयोजित एक कार्यक्रममा अभिव्यक्ति दिएपछि नेकपाभित्र वैचारिक युद्धसमेत चर्केको छ । 

केही दिनअघि अध्यक्ष प्रचण्डले एउटा टेलिभिजन कार्यक्रममा पार्टी एकता हुनुअघिको सहमति कोट्याउँदै अबको एक वर्षपछि प्रधानमन्त्री बन्ने पालो आफ्नो भएको र त्यो सहमतिबाट दायाँबायाँ भए कोही नटिक्ने भनेर दिएको अभिव्यक्तिले नेकपा अझै तरंगित छ ।  

पोलिटव्यूरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, विभाग प्रमुख तथा जिल्लाका इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेलगायतको निर्णयका लागि बस्न लागेको सचिवालय बैठकअघि पार्टीका एक जना अध्यक्ष रहेका प्रचण्डले एकताका बेला गरेको सहमति उप्काउनुले गम्भीर महत्व बोकेको नेकपाका एक जना नेता बताउँछन् । 

आन्तरिक द्वन्द्वका कारण पोलिटब्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजनका लागि भन्दै आह्वान गरिएको सचिवालय बैठक २ पटकसम्म स्थगित भइसकेको छ ।  

यसअघि शनिबार बैठक आह्वान गरिएकोमा आवश्यक गृहकार्य हुन नसकेको भन्दै अन्तिम समयमा बैठक स्थगित गरिएको थियो । सोमबार पनि गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरिएको छ । 

विशेषगरी भारत भ्रमणमा रहेका बेला आएको एक जना अध्यक्ष प्रचण्डको अभिव्यक्तिका साथै पार्टीको विभाग प्रमुखमा क–कसलाई  जिम्मेवारी दिने भन्नेबारेमा टुंगो लाग्न नसक्दा बैठक बस्न नसकेको ती नेताले बताए । 

अहिले संगठनको नेतृत्व गर्ने संगठन विभागमा कसलाई लैजाने भन्नेमा दुई अध्यक्षबीच कुरा मिल्न सकेको छैन । पार्टीको संगठन परिचालन र सबै रेकर्डसमेत राख्ने भएकाले यो विभाग महत्वपूर्ण मानिन्छ । त्यसैले नेताहरुको आँखा यो विभागमा केन्द्रित बनेको हो ।

विभागको नेतृत्व लिन नेता वामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेललगायतका नेता आकाक्षीको रुपमा लिइएको छ । केही समयअघि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले रामबहादुर थापा बादललाई यसको नेतृत्व दिने आन्तरिक तयारी थाल्नुभएको खबर बाहिरिएको थियो । यस्तै नेकपाको अन्य महत्वपूर्ण मानिने विदेश विभाग, राजकीय मामिला विभागलगायतका विभागको नेतृत्वमा पनि सहमति जुट्न सकेको छैन । 

पोलिटब्यूरो गठनमा पनि तत्कालीन एमाले र माओवादी केन्द्रले आ–आफ्नो भागमा पर्ने व्यक्तिको नाम टुंग्याउन सकेको छैन । बैशाख ३ मा जनवर्गीय संगठनको नेतृत्व टुंगो लाग्दै गर्दा पोलिटब्यूरोमा पनि सहमति भइसकेको भन्दै आन्तरिक छलफलमा रहेको नामावलीसहितको प्रतिवेदन बाहिरिएको थियो । 

पार्टीका जिम्मेवार व्यक्तिले नै पोलिटब्यूरोमा आफ्ना मान्छे घुसाउन आन्तरिक छलफलमा रहेको त्यो प्रतिवेदन बाहिर ल्याएको पार्टीकै कतिपय नेताहरु बताउँछन् । त्यस प्रतिवेदन बाहिरिएपछि पोलिटब्यूरो गठनमा झनै सकस आएको नेताहरुको बुझाइ छ ।

पछिल्लो समय अध्यक्षद्वयबीचमा नै सम्बन्ध सुमधुर नहुँदा यी सबै काम पछि धकेलिँदै गएको हो । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पार्टी एकताको काम जतिसक्दो छिटो टुंग्याउनु पर्ने बताउनुहुन्छ । पार्टीको वैचारिक लाइनदेखि पोलिटब्यूरो, विभाग सबैको काम सक्काएर पार्टीलाई चुस्त बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता भएको भन्दै अन्य कुरामा नेतृत्व अल्झेर बस्न नहुने बताउनुहुन्छ ।

पार्टी नीति र विधिअनुसार अघि बढ्नुपर्नेमा अहिलेसम्म मनोमानी ढंगले अघि बढीरहेको भन्दै उहाँले अब पनि निति र विधिअनुसार नचल्ने हो भने पार्टी सकिने दाबी गर्नुभयो । पार्टीको विचार, सिद्धान्तका बारेमा आवश्यक छलफल गरेर ठोस निर्णयमा पुग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

ठूलो पार्टीभित्र विवाद जस्तो देखिए पनि अहिले देखिएको विवादले पार्टी एकतालाई खासै असर नगर्ने भन्दै उहाँले तर एकतालाई पूर्णता दिने काममा भने ढिलाइ गर्न नहुने बताउनुहुन्छ । रात रहे अग्राख पलाउँछ भने झैँ एकताको कामलाई जति ढिला गर्यो उत्ति नै समस्या बढ्दै जाने उहाँको बुझाइ छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया