'मिडिया काउन्सिल विधेयक' अघि बढाए संसद र सडक अवरुद्ध पारिन्छ : सभापति देउवा

 जेठ २४, २०७६ शुक्रबार १७:४२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक अघि बढाए संसद अबरुद्ध पार्ने चेतावनी दिनुभएको छ ।

सभापति देउवाले मानव अधिकार हनन् हुने गरी आएको लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन आफ्नो पार्टी बाध्य हुने पनि बताउनु भयो । 

शुक्रबार पार्टीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप लगाउनु भयो । 'सरकारको त्यस्ता गतिविधि रोक्न पनि हाम्रो पार्टी लागिपर्छ', उहाँले भन्नुभयो । 

सभापति देउवाले सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको बताउनुभयो । सरकारको हरेक कदम लोकतन्त्र र जनता विरोधी भएकाले आफ्नो पार्टीले प्रतिवाद गर्ने योजना तय गरेको सभापति देउवाको भनाइ छ ।  

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया