नेपाल हिमालको देश हो, अब हिमाल र बुद्धको साहित्य लेख्नुपर्छ : धावक सापकोटा

 जेठ २५, २०७६ शनिबार १३:५९:३२ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ – 'लुम्बिनी साहित्यिक दौड' मा निस्कनुभएका धावक लक्ष्मण सापकोटा शनिबार दमौली आइपुग्नु भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आयोजनामा शनिबार विभिन्न संघसंस्थाले उहाँलाई दमौलीमा स्वागत गरेका थिए ।

धावक लक्ष्मण सापकोटाले नेपालमा हिमालको साहित्य लेखिनुपर्नेमा जोड दिनुभयो । ‘मरुभूमिका देशमा मरुभूमिका साहित्य लेखिन्छन्, समुद्रको देशमा समुद्र किनारका साहित्य लेखिन्छन्’ उहाँले भन्नुभयो, ‘नेपाल हिमालको देश भएकोले हिमालको साहित्य लेख्नुपर्छ, बुद्धको साहित्य लेख्नुपर्छ ।’ 

मरुभूमि र समुद्र किनारमा साहित्यकै माध्यमबाट पर्यटक पुग्ने भन्दै उहाँले नेपालमा सगरमाथा, हिमाली जडिबुटी, रारा ताल, लुम्बिनी, पशुपतिनाथको साहित्यमा जोड दिनुपर्ने बताउनुभयो । 

नेपालका प्रथम साहित्यिक धावक र हिमाल आरोही सापकोटालाई दमौलीमा स्वागत गर्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले भन्नुभयो, ‘महाभारतका रचयिता तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्यिक धावकलाई स्वागत गर्न पाउनु खुशीको कुरा हो, यो दौडले पर्यटन प्रबर्द्धनमा समेत सहयोग पुग्छ ।’ 

गएको जेठ १८ गते नमोबुद्धबाट ‘नमोबुद्ध– लुम्बिनी साहित्यिक दौड’ सुरु गर्नुभएका सापकोटाले आठौँ दिन तनहुँको डुम्रेदेखी थर्पुसम्मको दूरी पार गर्नुभएको थियो । उहाँको साहित्यिक दौड पोखरा, स्याङ्जा, पाल्पा, बुटवल हुँदै असार २ गते लुम्बिनी पुगेर सम्पन्न हुने गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो । 

विश्व शान्ति र साहित्यिक जागरणको उद्देश्यले दौडमा निस्कनुभएका सापकोटाले आगामी २०७७ जेठमा केही साहित्यिक कृति र झण्डासहित सगरमाथा आरोहण गर्ने तयारीमा हुनुहुन्छ । 

२०७१ मा सोलुखुम्बुको इम्जात्से आइल्याण्ड र विसं २०७४ मा मेरापीक हिमालको आरोहण गर्नुभएका सापकोटाले विसं २०७२ मा दुई सय १७ किलोमिटरको काठमाण्डौ–बर्दिबास (बीपी राजमार्ग) र विसं २०७३ मा मेची–महाकालीसम्मको एक हजार २६ किलोमिटर दौड सम्पन्न गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया