कांग्रेसले अवराेध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

 जेठ २७, २०७६ सोमबार १३:१०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठीसम्बन्धी विधेयकको विरोधमा आइतबार माइतीघर मण्डलामा भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेपको भर्त्सना गर्दै त्यस घटनाबारे गृहमन्त्रीको जवाफ माग गरको थियो । गृहमन्त्रीले जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नसक्ने भन्दै कांग्रेस सांसदले उभिएर विरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । त्यसपछि सचिवालयले २८ गते बिहान ११ बजे अर्को बैठक बस्ने गरी सूचना टाँसेर बैठक स्थगित भएको जनाएको हो । सूचनामा विशेष कारणले बैठक बस्न नसकेको जनाइएको छ ।

सूचनामा भनिएको छ, 'आज मिति २०७६ साल जेठ २७ गते सोमबार १५ मिनेटपछि बस्ने गरि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले  प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्मानीय सभामुखज्यूले अर्को बैठक २०७६ साल जेठ २८ गते मंगलबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया