वर्षा र बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा

 साउन १, २०७६ बुधबार ९:२१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वर्षा र बाढीका कारण अवरुद्ध भएका धेरैजसो सडक खुलेका छन् । सिन्धुली, रामेछाप, भोजपुर, धनकुटा, ओखलढुङ्गा, रौतहट, महोत्तरी, मुस्ताङ, मनाङ, पाल्पा, कालीकोट लगायतका ठाउँमा अवरुद्ध भएका धेरैजसो सडक खुलेका हुन् ।

पूर्व–पश्चिम राजमार्गको महोत्तरीमा पर्ने भप्सी खोलाको पुल भत्किएर अवरुद्ध भएको सडक नयाँ डाइभर्सनमार्फत् सञ्चालनमा आएको छ । त्यहाँ तत्काल नयाँ बेलिब्रिजसमेत जडान गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ । 

यस्तै, मुस्ताङको थासाङ घोप्टेभीरमा कालीगण्डकी नदीले सडक बगाउँदा अवरुद्ध बेनी–जोमसोम सडकमा पनि एकतर्फी रुपमा आलोपालो गरी गाडी चल्न थालेका छन् । पृथ्वी राजमार्गमा र त्रिभुवन राजपथमा कतै पनि सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट सिस्नेरी र  फाखेल हुँदै हेटौँडा जाने बाटो भने अझै सञ्चालनमा आउन सकेको छैन । यो बाटो पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रौतहट र महोत्तरीका सडकमा पनि पानीको मात्रा घट्दै गएपछि बाटो खुलेको छ । अवरुद्ध बीपी राजमार्गमा पनि यातायात सञ्चालनमा आएको छ ।

मध्यपहाडी राजमार्गको सिन्धुली क्षेत्रमा बहादुरे खोला, सोलु खोला र खाङसाङ खोलामा आएको पहिरोले पहिरोले अवरुद्ध राजमार्ग पनि सञ्चालनमा आएको छ । ओखलढुङ्गाको सिद्धिचरण राजमार्गमा पनि अवरोध हटाउने काम भइरहेको सडक विभागले जानकारी दिएको छ । यस्तै, बुटवल–पाल्पा जोड्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा भने अझै गाडी चल्न सकेका छैनन् ।

यसैबीच काठमाण्डौसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार ठाउँमा एक्रोब्रिज तयारी अवस्थामा राखेको छ । प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर काठमाण्डौसँग सम्पर्क टुट्न नदिनेगरी तयारी भैरहेको सेनाले जनाएको छ ।

सेनाका अनुसार काठमाण्डौको थानकोट, धादिङको बैरेनी, चितवनको भरतपुर र बाराको जीतपुरमा एक्रोबिज तयारी अवस्थामा राखिएको हो । बाढी पहिरोले सडक भत्किएको ठाउँमा एक्रोबिज राखेर गाडी चलाउन सकिने सेनाको भनाइ छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया