गृहमन्त्री थापाद्वारा हजयात्रीको बिदाइ

 साउन २, २०७६ बिहिबार १२:३५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्का मदिनामा जाने हजयात्रीलाई बिदाइ गर्नु भएको छ ।

गृहमन्त्री थापाले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हज यात्रा गर्न जाने १ सय ५६ जना हजयात्रीलाई बिदाइ गर्नु भएको हो । पहिलो चरणमा जाने हजयात्रीहरुलाई गृहमन्त्री थापाले बिदाइ गर्दै मक्का मदिनामा गएर नेपालको समृद्धिको कामना गर्न पनि अपील गर्नुभयो ।

उहाँले धर्म निरपेक्ष राष्ट्र नेपालले सबै धर्मको सम्मान र संरक्षण गर्ने भएकाले मुश्लिम समुदायलाई पनि हजयात्राका लागि पठाइएको पनि स्पष्ट पार्नुभयो । गृहमन्त्री थापाले हजयात्राको माध्यमबाट पनि नेपालको पहिचान  विश्वमा बढाउन सघाउ पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

हजयात्रीहरुलाई बिदाइ गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई पनि उपस्थित हुनुभएको थियो । गएको ८ वर्षयता सरकारको व्यवस्थापनमा नेपालबाट पनि हज गर्न मक्कामदिना पठाउने गरिएको छ । यस वर्ष सरकारले साउदी अरेबिया सरकारको आग्रहमा ३ सय जना थप गरी १ हजार ५ सय जनालाई हजयात्राका लागि पठाउने भएको छ ।

गृहमन्त्री थापाले यस वर्ष थप ३ सय गरी १ हजार ५ सय हजयात्राका लागि पठाउने र आगामी वर्षहरुमा हजयात्रीहरुको संख्या बढाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

गएको वर्ष सरकारले १ हजार २ सय जनालाई हजयात्राका लागि मक्कामदिना पठाएको थियो । मुश्लिम समुदायको पवित्र तीर्थस्थलको रुपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्न जाने गर्दछन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया