बाढी र डुबानबाट प्रभावित जिल्लामा सर्पदंशसँगै सरुवा रोगको जोखिम

 साउन ४, २०७६ शनिबार ९:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाढी र डुबानबाट प्रभावित जिल्लामा सर्पदंशसँगै झाडापखाला, मलेरिया, डेंगु जस्ता रोगको जोखिम बढेको छ ।

कोशी अञ्चल अस्पतालमा अहिले दैनिक ८ देखि १० जना सर्पदंशका बिरामी उपचारका लागि भर्ना हुने गरेका छन् । स्वास्थ्य मन्त्रालयले एन्टिस्नेक भेनमसहित प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाएको जनाएको छ ।

टोलीले महिला स्वास्थ्य स्वंयमसेविकासँग समन्वय गरी पानी शुद्ध गर्ने औषधि वितरण र जनचेतनाका काम गरिरहेको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख चूडामणि भण्डारीले बताउनुभयो । बर्खामा यसै पनि झाडापखाला, आउँ, जन्डिसजस्ता रोगको जोखिम हुने सम्भावना हुन्छ । बाढीपछि जोखिम थप बढेको भण्डारीको भनाइ छ ।

शुद्ध खानेपानी र सफा खानामा जोड दिने, सर्पदंश र लामखट्टेबाट जोगिन झुलभित्र सुत्ने सबैभन्दा राम्रो उपाय भएको उहाँको भनाइ छ ।

थप महामारी भैहालेमा उपचारका लागि बाराको पथलैया, सिरहाको लहान र महोत्तरीको बर्दिवासमा डाक्टरसहित तीन जनाको टोली पठाएको र नियमित समन्वयको काम भैरहेको पनि केन्द्रका प्रमुख भण्डारीले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया