अहिलेसम्म ४ करोड सिमकार्ड वितरण,  इन्टरनेट चलाउनेको संख्या १ करोड ८६ लाख

 साउन ६, २०७६ सोमबार १८:३८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा अहिलेसम्म झण्डै ४ करोड सिमकार्ड वितरण भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) रिपोर्टअनुसार नेपालमा ३ करोड ९९ लाख ८८ हजार ७ सय ५२ वटा सिमकार्ड वितरण भएका छन् ।

रिपोर्टअनुसार नेपाल टेलिकमका १ करोड ९७ लाख ५७ हजार ६ सय ८० सिम कार्ड वितरण भएका छन् । यस्तै १६ लाख ५१ हजार सीडीएमए नम्बर वितरण भएका छन् । यस्तै एनसेलका १ करोड ६५ लाख ४९ हजार सिम वितरण भएका छन् । यस्तै नेपाल स्याटेलाइट टेलिकमले २० लाख ३० हजार सिम वितरण गरेको छ । यस्तै ७ लाख ९८ हजार ७ सय ल्याण्डलाइन फोन प्रयोगकर्ता रहेका छन् ।

सिमकार्ड र ल्याण्डलाइन फोनका गरेर नेपालमा ४ करोड ७ लाख ७९ हजार टेलिफोन प्रयोगकर्ता रहेको प्राधिकरणले जनाएको छ ।

१ करोड ८६ लाख इन्टरनेट प्रयोगकर्ता

नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ८६ लाख पुगेको पनि दूरसञ्चार प्राधिकरणले जनाएको छ ।  यीमध्ये १ करोड ४७ लाख मोबाइल इन्टरनेट प्रयोगकर्ता रहेका छन् । प्राधिकरणको तथ्यांकअनुसार १ करोड ९ लाख ५ हजारले थ्री जी सेवा प्रयोग गरेका छन् भने ३६ लाख १२ लाख जनाले फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

यस्तै इन्टरनेट सेवा प्रदायकबाट फिक्स्ड ब्रोडब्याण्डका इन्टरनेट प्रयोगकर्ता २८ लाख ९१ हजार रहेका छन् । 

समग्रमा इन्टरनेट चलाउनेमध्ये ८८ लाख ७८ हजार प्रयोगकर्ता नेपाल टेलिकमका रहेका छन् भने एनसेलका ६७ लाख ४१ हजार  र नेपाल स्याटेलाइट टेलिकमका ग्राहक १ लाख ७४ हजार रहेका छन् ।

देशको कुल जनसंख्यालाई इन्टरनेट प्रयोगकर्ताको संख्याले भाग गर्दा ६३ दशमलव ३१ प्रतिशत नेपालीले इन्टरनेट चलाएको देखिन्छ । तर एउटै व्यक्तिले फरक–फरक प्रकारका इन्टरनेट सेवा लिइरहेकाले इन्टरनेट चलाउने नेपाली ६३ प्रतिशत पुगेको भने भन्न नमिल्ने प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: साउन २९, २०७६

तपाईको प्रतिक्रिया