पार्टी र सरकारभित्र देखा परेका कमी कमजोरीलाई सच्याउँदै जानुपर्छ: नेकपा अध्यक्ष दाहाल

 साउन ७, २०७६ मंगलबार १४:२४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी र सरकारभित्र देखा परेका कमी कमजोरीलाई सच्याउँदै जानुपर्ने आवश्यक्ता औँल्याउनु भएको छ ।

अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले  देखेको सपना पूरा गर्न पनि पार्टी र सरकारभित्र देखा परेका कमी कमजोरीलाई सच्याउँदै अघि बढनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

४१ औंँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाण्डाैको चम्पादेवीमा रहेकाे पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा उहाँले पार्टीलाई सुदृढ बनाएर विरोधीहरुको षडयन्त्रलाई परास्त गर्न पनि नेता, कार्यकर्तालाई आफूभित्रको कमीकमजोरीलाई सच्याएर अघि बढन आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले पार्टी एकता हुन नदिन आफूलाई प्रधानमन्त्री पदको समेत अफर गरेको तर त्यसलाई सफल हुन नदिएको उल्लेख गर्दै अब पार्टीलाई सुदृढ हुन नदिने षडयन्त्रलाई पनि परास्त गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष दाहालले पार्टी एकताको बाँकी सबै काम साउन महिनाभित्र सम्पन्न गरेर जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने गरी पार्टीले राष्ट्रिय अभियान नै सञ्चालन गर्ने पनि दोहोर्‍याउनु भयो ।

कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल र नेता झलनाथ खनालले पनि जनताको अपेक्षा अनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिनु भएको थियो । पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका वरिष्ठ नेता नेपालले जनताको अपेक्षा अनुसार सरकारको काम, कारबाहीलाई पार्टीले प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुष्पलाल श्रेष्ठको शालिकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, नेता खनालसहितले माल्यार्पण गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया