अतिक्रमित जग्गा फिर्ता गराउन गाेरखा क्याम्पसले थाल्याे पहल

 साउन ९, २०७६ बिहीबार २०:३८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा – जग्गा कारोबार गर्नेहरुले अतिक्रमण गरेको जग्गा फिर्ता गराउन गोरखा क्याम्पसले पहल थालेको छ । 

गोरखा नगरपालिका र जिल्ला प्रशासन कार्यालयलगायत निकायलाई पत्र लेख्दै क्याम्पसले जग्गा फिर्ता गराउनका लागि सहयोग गर्न आग्रह गरेको हो । गोरखा नगरपालिका५ हिलेपोखरीमा रहेको गोरखा क्याम्पसको कित्ता नम्बर ७०४ को केही जग्गा अतिक्रमणमा परेको थियो । 

क्याम्पसको पत्रमा गोरखा नगरपालिका-६, बस्ने राजेन्द्रकुमार श्रेष्ठलगायत व्यक्तिले गएको साउन ३ गते क्याम्पसको जग्गा अतिक्रमण गर्दै आफूले प्लटिङ गरेको जग्गामा जाने गरी मोटरबाटो बनाएको उल्लेख छ । 

‘निज राजेन्द्रकुमार श्रेष्ठसहितका व्यक्तिहरुले त्रिवि गोरखा क्याम्पस, गोरखाको कित्ता नं ७०४ जग्गाको पश्चिम उत्तर भागतर्फ रहेको साविक कित्ता नं ६५५ को जग्गा खरिद गरी प्लटिङ गरेका र निजहरुले उक्त प्लटिङमा जाने बाटो लान निकास बाटो कहीँ कतैबाट नभएको अवस्था हुँदा हाम्रो क्याम्पसको जग्गा एकाएक थाहा जानकारी बेगर कब्जा अतिक्रमण गरेको अवस्था छ’, क्याम्पसले गोरखा नगरपालिकामा बुझाएको निवेदनमा लेखिएको छ । 

जग्गा कारोबार गर्नेहरुले प्लटिङ सुरु गरेको कित्ता नम्बर ६५५ को जग्गामा जाने मोटरबाटो कतैबाट नभएको अवस्थामा क्याम्पसको जग्गा अतिक्रमण गरिएको गोरखा क्याम्पसले जनाएको छ । जग्गा प्लटिङ गर्ने क्रममा उनीहरुले गोरखा क्याम्पस हुँदै छेवेटारसम्मको सडकको रिटेनिङ वाल पनि भत्काइदिएका छन् ।

सडकको भित्तातर्फ लगाइएको ४ मिटर चौडाइ र ६ फिट उचाइको पर्खाल नै भत्काएपछि वडा नम्बर ७ को कार्यालयले काम रोकिदिएको छ । 

गोरखा क्याम्पसका प्रमुख विकास कुमार श्रेष्ठले गोरखा नगरपालिकालगायत निकायलाई लेखेको पत्रमा अतिक्रमण गरिएको जग्गाको स्थलगत निरीक्षण र नाप, जाँच गरी जग्गा मिच्नेलाई करबाही गर्न माग गरिएको छ । 

‘त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस जस्तो सार्वजनिक एवम् स्वायत्त संस्थाको जग्गा अतिक्रमण गरेकाले जग्गाको स्थलगत निरीक्षण, नाप, जाँचसमेत गरी क्याम्पसको जग्गा अतिक्रमण गर्नेहरुलाई झिकाइ आवश्यक कारबाहीसमेत गरी क्याम्पसको जग्गा यथाअवस्था, स्थिति कायम रहने गरी कारबाही गरी पाऊँ’, पत्रमा भनिएको छ ।   

याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: चैत ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया