नेपाल सुपर लिग फुटबलमा आज ललितपुर र पोखरा खेल्दै
चैत २०, २०८१ बुधबार
काठमाण्डाै - सन्तानले जेष्ठ नागरिक बाबुआमा लाई दिने सेवा सुविधा तथा पालन पोषणको व्यवस्था सम्बन्धमा सांसदहरुबीच नै मतभेद देखिएको छ ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गगतको महिला तथा सामाजिक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बाबुआमालाई छोराछोरी तथा सरकारका तर्फबाट उपलब्ध गराउने सेवा सुविधाबारे एक मत हुन नसकेकाे हो ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशाेधन गर्न बनेको विधेयकको बुँदा ८ को ‘क’ मा राखिएको ‘पारिश्रमिक वा रकम जम्मा गर्नुपर्ने’ भन्ने बाध्यकारी व्यवस्थाले बाबुआमा र छोराछोरीबीचको सम्बन्ध राम्रो बनाउनुको सट्टा बिगार्न सक्ने तर्कहरु समिति सदस्यहरुले गरेपछि यो विषय पेचिलो बन्दै गएको छ ।
मूल ऐनमा थप्ने गरी संशाेधन प्रस्ताव गरिएको विधेयकको ८ ‘क’ पारिश्रमिक वा रकम जम्मा गर्नुपर्ने प्रावधान अन्तर्गतको १ मा ‘सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो मासिक पारिश्रमिकको तोकिए बमोजिमको प्रतिशत रकम आफ्ना ज्येष्ठ नागरिक बाबुआमाको नाममा रहेको बैक खातामा प्रत्येक महिना जम्मा गर्नुपर्नेछ’, भन्ने उल्लेख छ ।
साथै जम्मा गरिएको रकमको दोब्बर रकम राज्यले सामाजिक सुरक्षाबापत थप गर्नु पर्ने प्रावधान पनि राखिएको छ । आपसी, माया, प्रेम, स्नेह तथा कर्तव्य र जिम्मेवारी बोधको अनुशासनबाट परिवार चल्ने गरेको भन्दै समिति सदस्यहरुले पैसा जम्मा गर्ने पर्ने बाध्यकारी व्यवस्थाले बाबुआमाबाट सन्तानलाई झनै टाढा पुर्याउने तर्क गरेका छन् ।
समिति सदस्य लक्ष्मणलाल कर्णले जबरजस्ती पैसा जम्मा गर्न पर्ने र नगरेमा कडा किसिमको दण्ड सजायको व्यवस्था गर्दा परिवार भित्र दीर्घकालीन रुपमा सम्बन्ध बिग्रने बताउनुभयो । बाबुआमालाई आवश्यकता पर्दा तुरुन्तै पाउने र असक्तको हकमा राज्यले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
समिति सदस्य एकवाल मियाँले भने बाबु आमाको बैंक खातामा पैसा जम्मा गर्नुपर्ने भनी निश्चित प्रतिशत तोक्नु भन्दा पालन पोषण नगर्ने छोरा छोरीलाई कडा कानुनी कारबाही गर्ने प्रावधान राखिनुपर्ने तर्क गर्नुभयो ।
त्यसैगरी समिति सदस्यहरु पुष्पा भुसालले परिवारको आर्थिक अवस्थाका आधारमा असक्तहरुमाथि राज्यको दायित्व बढी हुने प्रावधान राखिनुपर्ने बताउनुभयो । विन्दा पाण्डेले निश्चित प्रतिशत तोक्दा त्यसको कार्यान्वयन र प्रभावका बारेमा विचार गर्नुपर्ने तर्क गर्नुभयो ।
निश्चित रकम बाबुआमाको नाममा जम्मा गर्न पर्ने प्रावधानले सन्तानलाई बाबुआमाको दायित्वबाट अझै टाढा पुर्याउँछ कि ? भन्ने दृष्टिकोणबाट पनि छलफल गरिनुपर्ने बताउनुभयो । समिति सदस्य उमा रेग्मीले भने बाबु आमाको हेरचाह नगर्नेले पैतृक सम्पत्ति नपाउने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
समिति सदस्य मीना सुब्बाले भने सन्तानले बाबु आमाका नाममा जम्मा गर्ने पैसाले परिवारमा विखण्डन ल्याउँछ भन्ने कुरालाई स्वीकार गर्न नसकिने बताउनुभयो । अर्का सदस्य अञ्जना विसंखेले ‘समस्या खडा भएमा’ र ‘हैसियतको आधार’ भन्ने शब्दाबली थप गरेर सम्पूर्ण जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताउनुभयो । समिति सभापति निरुदेवी पालले ५,१०,२० भनी प्रतिशत नतोकी सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिनुपर्ने धारणा राख्नुभयो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सन्तानले बाबुआमाको बैंक खातामा निश्चित रकम जम्मा गर्नुपर्ने प्रावधानले परिवारमा विखण्डन नभई जोड्ने काम गर्ने दाबी गर्नुभयो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र घिमिरेले प्रस्तावित संशाेधन विधेयकको ८ ‘क’ मा उल्लेख गरिएको ‘व्यक्ति’ भन्ने शब्दलाई थप परिभाषित गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले छोरा, छोरी वा ज्वाई कसले दायित्व लिनुपर्ने भन्ने किटानीका साथ आउनुपर्ने उल्लेख गर्नुभयो ।
समिति सदस्यहरुबीच ज्येष्ठ नागरिक बाबु, आमाको बैक खातामा सन्तानले जम्मा गर्नुपर्ने रकम सम्बन्धमा मत बाझिएपछि समितिले यसबारेमा विज्ञहरुसंग छलफल गर्ने भएको छ ।
ज्येष्ठ नागरिकको पालन पोषण र हेरचाहका लागि भन्दै कानुनमै बाध्यकारी व्यवस्था गर्न बाबु, आमाको नाममा छोराछोरीले आफ्नो आम्दानीको निश्चित प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्था संसोधन गरी ऐनमा राख्न गरिएको प्रयास बारे भिन्न भिन्न टिप्पणी हुँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।