मन्त्रीहरुलाई प्रधानमन्त्रीकाे निर्देशन : गरिबी र पछौटेपन बदल्ने गरी काम गर्नुहाेस्

 साउन १५, २०७६ बुधबार १३:३०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिबी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ ।  

प्रधानमन्त्री ओलीले विकसित हुने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिबी र पछौटेपनको चपेटामा परेको देशलाई अघि बढाउन सरकारले आवश्यक नीति तथा कार्ययोजना तय गरेको पनि स्पष्ट पार्नु भयो ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यालयमा मन्त्रीहरुसँग चालू आर्थिक वर्षको कार्य योजनामा सम्झौंता गरेपछि उहाँले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा हुने गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको र त्यसलाई पूरा गर्न सबै मन्त्रीहरुलाई सचेत गराउनु भयो ।

प्रधानमन्त्री ओलीले जनताको सेवा, सुविधालाई ध्यानमा राखेर सरकार अघि बढेको दाबी गर्दै त्यस अभियानलाई अझै प्रभावकारी बनाउन पनि सबै मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउनु भयो । उहाँले विकास, निर्मााणको कामलाई सहज ढंगले अघि बढाउने गरी नागरिकले बहुमतको सरकार बनाएको स्मरण गर्दै त्यही अनुकूलतालाई ध्यानमा राखेर विकास, निर्माणको काममा तीव्रता दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार देशको हित हुने गरी अडान लिन सक्ने हैसियतमा रहेको उल्लेख गर्दै त्यही अनुसारको कार्य सम्पादन गर्नुपर्नेमा जाेड दिनु भयो । त्यस अवसरमा सचिवहरुले मन्त्रीहरुसँग पनि कार्य सम्पादन सम्झौता गरेका थिए ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कामलाई पूर्णता दिन प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्य सम्पादन सम्झौंता गर्ने कामको सुरुवात गरिएको हो । प्रधानमन्त्री ओलीले सरकारको याे अभियानलाई सफल बनाउन सहयोग गर्न पनि सबैलाई आग्रह गर्नु भएकाे छ ।  

कार्यक्रममा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको विस्तृत कार्ययोजना प्रधानमन्त्री ओली समक्ष पेश गरेको थियो । दुवै मन्त्रालयले पेश गरेको कार्ययोजनामा मन्त्रालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका मितिसहितको कार्ययोजना समावेश गरिएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया