सुत्केरीको ज्यान गएपछि नोबेल अस्पतालमा तनाव: चिकित्सकले लापरबाही गरेकाे आफन्तकाे आराेप

 साउन १५, २०७६ बुधबार २०:४०:५६ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - विराटनगरको नोबेल शिक्षण अस्पतालमा सामान्य प्रसूतिबाटै बच्चा जन्माएकी एक महिलाको मृत्यु भएपछि नोबेल अस्पताल तनावग्रस्त भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका झुम्का-३ की ३४ वर्षीया पार्वती कार्कीलाई बुधबार बिहान साढे तीन बजे अस्पतालले मृत घोषणा गरेको हो । ‘नर्मल डेलिभरी’ बाट दोस्रो सन्तान छोरी जन्माएकी उनको  उपचारका क्रममा चिकित्सकले लापरबाही गरेका कारण मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

घटनाको विरोधमा आफन्तले अस्पतालमा नाराबाजी र प्रदर्शन गर्दै उपचारमा संलग्न चिकित्सकलाई कारबाही हुनुपर्ने माग गरेका छन् । अहिले अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

पार्वतीलाई प्रसूतिका लागि सोमबार भर्ना गरिएको थियो । मंगलबार दिउसो १२ बजे उनले दोस्रो सन्तानका रुपमा छोरी जन्माएकी थिइन् । तर रक्तस्राव अत्यधिक भएको भन्दै चिकित्सकले उनलाई दिउँसो २ बजे पाठेघरको शल्यक्रिया गर्न अप्रेशन थिएटरमा लगेका थिए ।

शल्यक्रियापछि १५ पिन्ट रगत चढाइएकी उनलाई बुधबार बिहान भने अस्पतालले मृत घोषणा गरेको मृतकका भाइ खेमराज राउतले बताउनुभयाे । ‘सामान्य प्रसूतिबाट बच्चा जन्माएकी महिलाको चिकित्सककै लापरबाहीले ज्यान गयो, रगत अत्यधिक बगे पनि दुई घण्टासम्म चिकित्सकले वास्तै गरेनन्’,’ उहाँले गुनासाे गर्नुभयाे । 

एक्कासी बेहोस भएपछि पाठेघरको शल्यक्रिया गर्नुपर्छ भन्दै अप्रेशन थिएटर तिर लगेको मृतकका परिवारको भनाइ छ । शल्यक्रियाका क्रममा पनि त्रुटि भएको र समयमै ध्यान दिएर चिकित्सकले उपचार सुरु गरेको भए सुत्केरीको मृत्यु नहुने मृतकका भिनाजु कृष्ण विष्टको भनाइ छ ।

विष्टका अनुसार बच्चा जन्माएको केही समयपछि पार्वतीले खान समेत खान खोजेकी थिइन् । खाना खुवाउन खोज्दा उनी बेहोस भएर ढलेपछि मात्रै रगत धेरै बगेको भन्दै पाठेघर फ्याल्नु पर्ने भनेर चिकित्सकले लगेको उहाँको भनाइ छ ।

बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । वैदेशिक रोजगारीका लागि कतार गएका मृतकका श्रीमान दीपक कार्की घटनाबारे जानकारी पाउनसाथ नोबेल अस्पतालमा आइसक्नुभएकाे छ। कार्की दम्पतीको पहिलो सन्तान ७ वर्षकी छोरी छिन् ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले चिकित्सकका भनाइ अनुसार उपचारमा कुनै लापरबाही नभएको बताउनुभयाे । याे घटनामा धेरै रगत बगेका कारण मृत्यु भएको जानकारी चिकित्सकहरुले अस्पताल प्रशासनलाई गराएको दाहालले बताउनुभयाे । 

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया