कुलमानको सक्रियतामा ११ वर्षपछिकै ठूलो जलविद्युत आयोजना सम्पन्न, त्रिशूलीबाट ६० मेगावाट बिजुली निस्कियाे

 साउन १८, २०७६ शनिबार १६:४२:२९ | अर्जुन पोख्रेल
unn.prixa.net

नुवाकोट – नेपालमा ११ वर्षपछिकै ठूलो जलविद्युत परियोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । माथिल्लो त्रिशूलीथ्री 'ए' बाट ६० मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । 

यो आयोजनाको पहिलो युनिटबाट गएको जेठ २ गते नै ३० मेगावाट विद्युत् उत्पादन भैसकेको छ । दोस्रो युनिट पनि ७२ घण्टा परीक्षण सम्पन्न भएको छ । अहिले माथिल्लो त्रिशूलीथ्री 'ए' बाट ६० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट दैनिक १४ लाख ४० हजार युनिट विद्युत उत्पादन भैरहेको छ  । 

अहिलेसम्म आयोजनाका दुवै युनिटले २ करोड २० लाख युनिट बिजुली उत्पादन गरेका छन् । बजार भाउ अनुसार २२ करोड रुपैयाँको बिजुली उत्पादन भैसकेको छ । यसअघि विसं २०६५ सालमा मध्य मर्स्याङ्दीबाट ७० मेगावाट विद्युत उत्पादन भएको थियो।

'हामीले ११ वर्षपछिकै ठूलो आयोजना सम्पन्न गरेका छौँ, लामो समय समस्यामा रहेको यो आयोजना सम्पन्न भएपछि हामीलाई धेरै राहत भएको छ, उत्साहित भएका छौँ ', प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालोसँग भन्नुभयो ।

आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाण्डौको मातातीर्थमा रहेको सबस्टेसनमा जोडिएको छ । अब दोस्रो युनिटको उपकरण तथा सुरुङ, बाँधलगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ । 

ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसनले उपकरणको दक्षता र कार्यसम्पादन अगष्ट तारिखसम्म सम्पन्न गर्नुपर्नेछ । त्यसपछि उसले टेकओभर सर्टिफिकेट पाउनेछ । सर्टिफिकेट पाएको एकवर्षसम्म आयोजनाको मर्मत पनि ठेकेदार कम्पनीले नै गर्नुपर्नेछ ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, ‘लोड सेन्टर (काठमाण्डौ उपत्यका) बाट नजिक रहेको र हिउँदमा समेत झण्डै ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाण्डौ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहन्छ, यसबाट उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्नेछ ।’ 

उहाँले त्रिशूली थ्री 'ए' पूर्णरुपमा सञ्चालनमा आएपछि आयोजनाबाट देशभित्र खपत हुने ऊर्जामा झण्डै ८ प्रतिशतको योगदान रहने बताउनुभयो । यसबाट मुख्यरुपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने ऊर्जा घट्ने घिसिङले बताउनुभयो । 

विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन सुरु गर्ने अवस्थामा पुगेको हो । आयोजनाले नै काठमाण्डौको मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरेको छ । यसबाट त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्यत् आयोजनाको ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधारसमेत तयार भएको छ ।

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैँकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी) सँग १४ जेठ २०६७ (२८ मे २०१०) मा ठेक्का सम्झौता भएको थियो ।  प्रसारण लाइनको ठेक्का चाइना वाटर एण्ड इनर्जी (सीडब्ल्यूई) ले पाएको थियो ।

१७ जेठ २०७१ (३१ मे २०१४) भित्रमा निर्माण सक्नेगरी सीजीजीसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । 

विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया