फिफाको बेस्ट अवार्डको मनोनयनमा सिटीका खेलाडी नपरेपछि प्रशिक्षक ग्वार्दिओलाको प्रश्न

 साउन १९, २०७६ आइतबार ९:१९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्दिओलाले फिफाको द बेस्ट अवार्डको मनोनयनमा नपरेकोमा प्रश्न गरेका छन् । फिफाले अवार्डका लागि १० खेलाडीको मनोनयन सार्वजनिक गर्दा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीबाट एक जना पनि अटाएनन् । सिटीले प्रिमियर लिग, एफए कप र कारवाओ कपको उपाधि जितेको थियो ।

१० जनाको मनोनयनमा टोटनह्यामका ह्यारी केन तथा लिभरपुलका भर्जिल भान डाइक, साडियो माने र मोहम्मद सलाह परेका छन् ।

‘अर्को सिजन पाँच–६ वटा उपाधि जित्नु पर्छ वा २५० अंक ल्याउन सक्यो भने मेरा खेलाडी पनि पर्छन् होला,’ ग्यार्दिओलाले ब्यंग्य गरे । ‘यो अवार्ड च्याम्पियन्स लिगमा गरेको प्रदर्शनको आधारमा दिइन्छ । अरु प्रतियोगिताहरुले कुनै महत्व नराख्ने रहेछ,’ पेपले थपे ।

अघिल्लो सिजन म्यानचेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि पनि जितेको थियो । तर च्याम्पियन्स लिगबाट भने क्वार्टर फाइनलबाटै बाहिरियो ।

म्यानचेस्टर सिटीका कुनै पनि खेलाडीले पीएफए अवार्ड पनि जितेको छैन । ब्यावसायिक फुटबल खेलाडीको संगठनले प्रदान गर्दै आएको अवार्ड हो यो । सिटीले पछिल्लो आठ सिजनमा चारवटाको उपाधि जितेपनि सिटीका खेलाडीले अहिलेसम्म पीएफए प्लेयर अफ द एयरको उपाधि जित्न सकेका छैनन् ।

‘आठ वर्षमा चार पटक लिग जित्नु धेरै राम्रो हो,’ उनले भने । ‘तर, कुनै खेलाडीले जितेनन् ।’ ‘सलाहलाई सम्मान छ, तर, त्यो सिजन हामीले एक सय अंक पुर्‍याउँदा केभिन डि ब्रुयनले सबैभन्दा राम्रो प्रदर्शन गरेका थिए ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया