दाङकाे प्लाई उद्याेगमा १६ घण्टादेखि आगलागी

 चैत ११, २०८१ सोमबार १७:४३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा गएराति २ बजेदेखि शुरू भएको आगो अझै निभाउन सकिएको छैन ।

आगो निभाउने प्रयास भइरहेको तर नियन्त्रणमा आउन नसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनार्दन जिसीले उज्यालोलाई जानकारी दिनुभयो ।

झन्डै ७ बिघामा क्षेत्रफलमा फैलिएको उद्योगभित्र ठूलो मात्रामा गोलिया काठ राखिएकोले आगो निभाउन समस्या भइरहेको छ । ८ वटा दमकलबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रुपन्देही, बाँके, कपिलवस्तु, दाङ लगायतका जिल्लाबाट दमकल ल्याएर आगो निभाउने प्रयास भइरहेको एसएसपी जिसीले बताउनुभयो ।

आगलागीबाट करोडौंको भौतिक क्षति भए पनि मानव बस्ती नजिक नभएकोले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । अहिले डोजरको प्रयोग गरी जमिनको भाग छुट्टयाएर आगो थप फैलिनबाट रोक्ने प्रयास भइरहेको एसएसपी जिसीले बताउनुभयो ।

उद्योगमा बिजुली शर्ट भएर गएराति २ बजेदेखि आगलागी शुरू भएको हो । उद्योग नजिकका ३० वटाभन्दा धेरै घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकालिएको र त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित ठाउँमा लगिएको छ ।

हावा लागेकाले आगो निभाउन थप समस्या भइरहेको छ । आगो निभाएपछि मात्रै क्षतिबारे अनुमान हुने प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया