देशका धेरै ठाउँको मौसम मुख्यतया सफा, काठमाण्डौमा वायु प्रदूष...
चैत १५, २०८१ शुक्रबार
काठमाण्डौ – बाँकेको नरैनापुर र रामेछापमा भएको आगलागीबाट २२ घरगोठ जलेका छन् । नरैनापुर गाउँपालिकामा १७ घरगोठ र रामेछापमा पाँच घरगोठ जलेका हुन् । बाँकेको नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा हिजो दिउँसो आगलागी भएको थियो ।
जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले निभाएका सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनुभयो । खरले छाएका र एकआपसमा जोडिएका घरगोठ रहेका अनि तीव्र हावाहुरीका कारण आगोले क्षति गरेको उहाँको भनाइ छ ।
आगलागीका कारण ६० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आगलागी पीडितलाई राहत दिने बताउनुभएको छ । हरेक वर्ष नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुँदै आएका छन् ।
यसैबीच रामेछापको रामेछाप नगरपालिका–५ को ठिङग्रे, चुकिया र स्वाङग्रागाउँमा आगलागीबाट दुई वटा घर र तीनवटा गोठ जलेका छन् । घर नजिकैको जङ्गलमा लागेको आगो हिजो बस्तीमा पस्दा आगलागी भएको हो । हावाहुरीले आगो थप फैलिएको थियो ।
मानवीय क्षती नभए पनि घरमा भएका अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको रामेछाप नगरपालिका–५ का वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । रामेछाप प्रहरीले चैत/वैशाखमा आगलागीको जोखिम हुने भएकाले सतर्कता अपनाउन, वनजङ्गलमा डढेलो नलगाउन अनुरोध समेत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।