अबको केही समयमा नेपाली ध्वजावाहक जहाज युरोप उड्नेछन् : मन्त्री भट्टराई

 साउन २२, २०७६ बुधबार १३:११:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली युनियन (इयू)ले नेपाली जहाजलाई युरोप छिर्न लगाएको प्रतिबन्ध छिट्टै हटाउने बताउनुभएको छ ।

बुधबार मन्त्रालयमा भएको कार्यक्रममा उहाँले भन्नुभयो, ‘उताको टोली अध्ययन गर्न आउँदैछ, अबको केही समयमा नेपाली झण्डासहितका जहाज युरोप जानेछन् ।

इयूको प्रतिबन्धका विषयमा परराष्ट्र, प्रधानमन्त्री कार्यालयसहित आफूहरुले पनि काम गरिरहेको मन्त्री भट्टराईले बताउनुभयो । ‘हामीले इयूको चासोलाई सम्बोधन गर्ने गरी नागरिक उड्डयन प्राधिकरणलाई नियामक र व्यवस्थापक गरी दुई भागमा टुक्र्याउँदैछौँ, ऐन बन्दैछ, प्रतिबन्ध लामो समयसम्म नजाला ।’ मन्त्री भट्टराईले भन्नुभयो ।

यस्तै, उहाँले वायुसेवा निगम सुधारमा पनि काम सुरु गरिसकेको बताउनुभयो  । ‘वायु सेवा निगमको बारेमा मैले पद बहाली गर्दा वाह ! नेपाल वायुसेवा निगम भन्ने बनाउँछु भनेको हो । त्यो भन्नका लागि हैन, गर्नका लागि भनेको हो । यो ७ दिनमा मैले हरेक दिन छलफल गरेँ, यसलाई पार लगाउन भेन्टिलेशन खोल्ने हो  ।’ उहाँले भन्नुभयो ।

निगमलाई उकास्न बुधबार एउटा कमिटी बनाएको र समितिले १ महिनामा प्रतिवेदन दिने उहाँले जानकारी दिनुभयो । समितिले आर्थिक अवस्था हेर्नेछ, साझेदारीको सम्भावना हेर्छ । मन्त्री भट्टराईले भन्नुभयो ‘समितिलाई मैले निशाना ताकेर हान्न भनेको छ । १ महिनामा काम सुरु हुन्छ ।’

मन्त्री भट्टराईले निगमका प्रमुख मदन खरेलसँग ‘बिजनेस प्लान’ मागेको र ग्राउण्डेड जहाज तत्काल उडाउन पनि निर्देशन दिएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया