नेपाल वायुसेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन ५ सदस्यीय कार्यदल गठन

 साउन २२, २०७६ बुधबार १६:४९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले नेपाल वायुसेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको छ । 
 
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ गठन गर्नुभएको हो । 

समितिका सदस्यहरुमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, विमान चालक सुधीर शमशेर राई र सदस्य सचिवको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनु भएको छ ।

राष्ट्र हित, जनताको हित र नेपाली ध्वजावाहक विमानको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठा बढ्नेगरी एक महिनाभित्र सुझाव दिन कार्यदल गठन गरिएको मन्त्री भट्टराईले जानकारी दिनुभयो । 

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निगमको सुधारका लागि आफूले पटक–पटक त्यहाँको व्यवस्थापनसँग आवश्यक छलफल गरिरहेको पनि बताउनु भयो। मन्त्री भट्टराईले निगमका पदाधिकारीहरुसँग आफूले विजनेस प्लानको विषयमा पनि छलफल गरिरहेको बताउनु भयो । उहाँले निगमलाई गर्व गर्न लायक बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

मन्त्री भट्टराईले अब छिट्टै चीन र दक्षिण कोरियामा पनि नेपालले हवाई सेवा सञ्चालन गर्ने योजना पनि अघि सार्नुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास चालु आर्थिक वर्षभित्र सुरु गर्ने घोषणा पनि गर्नुभयो । राजनीतिक सहमति जुटाएर विमानस्थलको निर्माणको कामलाई अघि बढाउने मन्त्री भट्टराईको योजना छ ।

मन्त्री भट्टराईले त्यसका लागि प्रधानमन्त्री केपी ओलीसँग आवश्यक निर्देशन लिने र त्यही अनुरुप अन्य राजनीतिक दलहरुका शीर्ष नेताहरुसँग आफूले छलफल गर्ने पनि बताउनु भयो ।

मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानीको व्यवस्था गर्न लगानी बोर्डसँग पनि छलफल गर्ने बताउनु भयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया