बालुवाटार जग्गा प्रकरण आझेलमा पर्दैन्, नागरिकले अपेक्षा गरेअनुसार नतिजा आउँछ : मन्त्री अर्याल

 साउन २२, २०७६ बुधबार १५:४९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा तीन वटा निकायबाट छानबिन तथा अनुसन्धानको काम भैरहेको जानकारी दिनु भएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले बालुवाटार जग्गा प्रकरणबारे आज पनि काम भैरहेको बताउनुभयो । अख्तियार, भूमि व्यवस्था मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराे(सीआईबी) गरी तीनवटै निकायले आ–आफ्नो ढंगले काम गरिरहेको उहाँले बताउनुभयो । उनले भन्नुभयो,‘सबैले आ–आफ्नो ढंगले काम गरिरहेका छौं । त्यही भएर अलिक समय लागेको हो । अब धेरै लामो समय जाँदैन् ।’

उहाँले यस प्रकरणमा कारबाहीका लागि केही ढिलाइ भए पनि दोषीहरु नउम्किने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनताले यो प्रकरणमा जुन अपेक्षा गरेका छन्, त्यहीअनुसारको नतिजा आउँछ ।’

मन्त्री अर्यालले नेपालका समा स्तम्भको अवस्था बाहिर हल्ला आएको जस्तो नभएको स्पष्ट पार्नुभयो ।  उहाँले भन्नुभयो, ‘यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र नापी विभागमार्फत अनुगमन भैरहेको छ । जसरी बाहिर सीमा स्तम्भ हराएको हल्ला आएको छ, त्यस्तो अवस्था होइन ।’

नेकपाको पार्टी कार्यालय सरकारी जग्गामा रहेको कुराबारे टिप्पणी गर्दै उहाँले पार्टीले भाडा तिरेर बसेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीले निश्चित् शुल्क तिरेर बसेको छ । यो प्रकृतिको जग्गा लिज सिस्टममा जानको लागि पत्राचार भैसकेको छ । यदि लिज सिस्टममा गएन भने भोगाधिकार अन्त्य हुन्छ ।’

उहाँले २०७१ सालमै लिज नीति पारित भएकोले अब आफूहरुले लिज सिस्टममा लैजाने पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया