अभिनयमा नआएको भए बाल मनोचिकित्सक हुन्थेँ : नम्रता श्रेष्ठ

 साउन २७, २०७६ सोमबार १५:५४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

आलोक नेम्वाङले निर्देशन गरेकाे चलचित्र 'सानो संसार' बाट नेपाली चलचित्रमा डेब्यू गरेकी अभिनेत्री हु्न्, नम्रता श्रेष्ठ । उनी मोडल तथा अभिनेत्री मात्र नभइ निर्मात्री र व्यवसायी पनि हुन् । 

त्यसपछि उनले 'मेरो एउटा साथी छ', 'छड्के', 'नोभेम्बर रेन', 'क्लासिक', 'पर्व', 'होमवर्क', 'प्रसाद' जस्ता सफल चलचित्रमा अभिनय गरिन् । नेपाली चलचित्र जगतमा आउनु भन्दा पहिले नम्रता मोडलिङ तथा थिएटरमा सक्रिय थिइन् । 

उनी आफैँले निर्माण गरेको चलचित्र जाइरा आउँदो भदौ ६ गतेबाट नेपालभरि नै प्रदर्शनमा आउँदै छ । यो चलचित्रमा नम्रता एक्सन अवतारमा प्रस्तुत भएकी छन् । उनै अभिनेत्रीसँग हामीले केही रमाइलो कुराकानी गरेका छौँ । 

कुनै पनि चलचित्रमा काम गर्नुअघि कसरी फाइनल गर्नुहुन्छ ?
पहिला त म स्क्रिप्ट हेर्छु अनि त्यसपछि टिम हेर्छु । किनकि मलाई काम गर्दा राम्रो वातावरण चाहिन्छ । टिम राम्रो भैसकेपछि, एकअर्कालाई बुझेपछि काम गर्न सजिलो हुन्छ ।

दर्शकको मन जित्न चलचित्रमा के हुनुपर्छ ?
दर्शकको मन जित्ने चलचित्र बनाउन स्क्रिप्टलाई नै राम्रोसँग समय दिनुपर्छ । स्क्रिप्टले मागेको कलाकार दिन सक्नुपर्छ, यस्ता कुरामा सम्झौता गर्नु हुँदैन । कसलाई कस्तो भूमिकामा सुहाउँछ, त्यही भूमिका नै गर्न लगाउनुपर्छ । 

तपाईँ कत्तिको खर्चालु हुनुहुन्छ ?
त्यो अवस्था हेरेर नै हुन्छ । म चाहिँ हरेक महिना यो समयमा सपिङ गर्नुपर्छ भन्ने खालको केटी होइन । देखेको कुराहरु मन पर्यो भने किन्छु । खर्चालुको हिसाबले त्यति धेरै त होइन तर ठिकठिकै खर्च गर्छु । 

सबैभन्दा धेरै कुन चिजमा खर्च गर्नुहुन्छ ?
धेरै खर्च त लगाउने कुरामा नै हुन्छ  । त्यो पनि जुत्ताहरुमा, यसमा मेरो अलि धेरै खर्च हुन्छ । 

दिनको सुरुवात कसरी गर्नुहुन्छ ?
दिनको सुरुवात सधैँ एउटै हुँदैन । पहिला त उठ्छु अनि उठेर म्युजिक चालु गर्छु । र म्युजिकको धुनबाट नै आफ्नो दिनको सुरुवात गर्छु ।

बिहान कति बजे उठ्नुहुन्छ ?
म बिहान ६ बजे उठ्छु । राति जति बजे सुते पनि बिहान ६ बजे उठ्ने बानी भइ सक्यो । कहिलेकाहीँ चाहिँ रातिसम्म सुटिङ हुन्छ, त्यो बेलामा चाहिँ टुंगो हुँदैन । 

आफूलाई फिट राख्न कस्ता कुराहरुमा ध्यान दिनुहुन्छ ?
पानी एकदमै धेरै पिउँछु । भ्याएसम्म योगा र जिम जान्छु ।

यदि तपाईँ चलचित्र क्षेत्रमा नआउनु भएको भए के हुनु हुन्थ्यो होला ?
म सायद ‘चाइल्ड साइकोलोजिस्ट’ (बाल मनोचिकित्सक) हुन्थेँ होला । मलाई एकदम बच्चाहरु मनपर्छ । उनीहरुसँग समय बिताउन मनपर्छ ।

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया