'अनुगमन र कारबाही गरेको सुनिदिनु भएन भने मन्त्रीप्रति अन्याय हुन्छ'

 साउन २८, २०७६ मंगलबार १७:१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ८ को प्रश्न उत्तर कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कालोबजारी रोक्ने र गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउन सरकार कटिबद्ध रहेको बताउनु भयो । मन्त्री यादवले सबै प्रदेशका मन्त्री, महानगर, उपमहानगरपालिका लगायतका पदाधिकारीहरुसँग बृहत् छलफल गरी योजना बनाउने काम भएको भन्दै उहाँले अनुगमन र कारबाही गरेको पनि सुन्न र देख्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, 'योजना बनाएको मात्रै सुन्नुभयो । थुप्रै अनुगमन गरेको छु । थुप्रै कारबाही गरेको छु । त्यो चाहिँ सुन्नुभएन, मलाई आश्चर्य लाग्छ । एकातिर मात्रै सुन्ने कि दुई ओटै कानले सुन्ने हो ? योजना मात्रै सुन्नु भयो । अनुगमन गरेको, कारबाही गरेको सुनिदिनु भएन भने त मन्त्रीप्रति अन्याय हुन्छ । अन्याय नगर्दिनु होला भन्ने मेरो आग्रह छ ।'

उहाँले नेपालमा आयात हुने तरकारी तथा फलफुलमा ८० प्रतिशतसम्म विषादी पाइएको भन्ने कुरामा सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, 'असार मसान्तसम्म तीन हजार सात सय ४४ ओटा नमुना परीक्षण गरिएकोमा तीन हजार सात सय २९ ओटामा ३५ प्रतिशतभन्दा कम देखिएको छ । १३ ओटा नमुनामा ३५ भन्दा बढी देखिएको र २ ओटामा ४५ भन्दा बढी प्रतिशत विषादी प्रयोग भएको पाइएको छ ।' 

मन्त्री यादवले विषादी जाँच गर्न रोकिएको भन्ने कुरा पनि सत्य नभएको स्पष्ट पार्नुभयो । उहाँले सबै स्थानमा उच्चस्तरीय परीक्षण प्रयोगशाला नभएको हुनाले राजधानी ल्याएर परीक्षण गर्ने गरिएको बताउनु भयो ।

उहाँले नेपाल भारतबीच मध्य पहाडी लोकमार्गको उद्गम स्थल चिवाभञ्याङ्गमा व्यापारिक नाका स्थापना गर्ने योजना नभएको र थप नाका स्थापना गर्नुपर्ने देखिएमा दुईपक्षीय वार्ता गरेर मात्रै स्थापना गरिने स्पष्ट पार्नु भयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया