खेलाडी अनुबन्धमा नियम उल्लंघन गरेपछि सिटीमाथि जरिबाना

 साउन २९, २०७६ बुधबार ७:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले खेलाडी अनुबन्धमा विश्व फुटबल महासंघ फिफाको नियम उलंघन गरेको भन्दै जरिबाना लगाइएको छ । तर उसलाई खेलाडी अनुबन्धमा भने रोक लगाइएको छैन । 

सिटीले फिफाको नियम विपरीत युवा खेलाडीलाई अनुबन्ध गरेको भन्दै फिफाले जरिबाना लगाएको हो । तर यो सिजनमा नयाँ खेलाडी ल्याउन हुनसक्ने प्रतिबन्धबाट भने बचेको छ ।

प्रिमियर लिग च्याम्पियन सिटीलाई फिफाले तीन लाख ३० हजार स्वीस फ्रांक जरिबाना लगाएको छ । फिफाका अनुसार सिटीले आर्टिकल १९ अन्तर्गत अन्तर्राष्ट्रिय खेलाडी अनुबन्ध गर्दा १८ वर्ष नपुगेकोलाई भित्र्याएको, जुन फिफाको नियम अनुसार उचित नभएको जनाएको छ । 

सिटीले भने आफूले अनुबन्ध गरेका युवा खेलाडी, व्यावसायिक नभएर खेलाडीसँगको सम्बन्धका कारण र उनीहरुलाई मैत्रीपूर्ण खेलमा मात्र खेलाएको जनाएको छ । साथै सिटीले फिफाको अनुसन्धानमा पूर्णरुपमा साथ दिने बताएको छ ।

गएकाे सिजन घानाको ड्रिम फुटबल एकेडेमीबाट सिरा लियानी र डोमिनीक ओडुरोलाई सिटीले अनुबन्ध गरेको थियो । फिफाको जरिबानाविरुद्ध सिटीले कोर्ट अफ आर्बिटेसनमा अपिल गर्ने भएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया