विवादित विषयमा सहमति ननिस्किँदा नेकपाको बैठक फेरि सर्‍याे

 साउन २९, २०७६ बुधबार १३:१३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विवादित विषयमा अध्यक्षद्वयबीच नै सहमति नजुटेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बस्ने भनिएको बैठक फेरि सरेको छ । 

मंगलबारका लागि तय भएको बैठक बुधबारका लागि बोलाइएको भए पनि विवादित विषयमा अध्यक्षद्वय केपी शर्मा ओली  र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नजुटेपछि बैठक स्थगित गरिएको हो । बैठक बिहीबार बस्नेगरी स्थगित भएको छ । 

नेकपाको ३३ विभाग, विभिन्न आयोगहरु, जनवर्गीय संगठनका इन्चार्ज, सह–इन्चार्ज लगायत टुंगो लगाउन बाँकी छ । अधिकांश विषय सहमति नजिक भए पनि स्कुल विभागका विषयमा दुवै अध्यक्षबीच पनि कुरा नमिलेपछि बैठक सरेको सर्यै गरेको छ । 

स्कुल विभागमा मुख्य गरेर सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दावी छ । स्कुल विभागमा स्थायी कमिटीका अन्य नेताहरुको पनि दावी छ ।यसमा सहमति जुटाउन अध्यक्षद्वयबीच बुधबार बिहान बालुवाटारमा बैठक बसेको भए पनि सहमति हुन सकेन । 

मंगलबार दुवै अध्यक्षसँग बेग्लाबेग्लै परामर्श गरेका सचिवालय सदस्यहरुले विवादलाई जतिसक्दो छिटो टुंगो लगाएर एकता प्रकृयालाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेका थिए । 

दुवै अध्यक्षले आफू अनुकुलका व्यक्ति ल्याउन खोजेकाले सहमति हुन नसकेको नेकपा स्रोतले जनाएको छ । यस्तै जनवर्गीय संगठनको नेतृत्वबारेमा पूर्व एमालेभित्रै विवाद उत्पन्न भएको छ ।

पूर्व एमालेको भागमा परेकोमध्येका संगठनमा अध्यक्षले मनोमानी गर्न लागेको भन्दै माधव नेपाल, झलनाथ खनाललगायतले विरोध जनाएका छन् । जनवर्गीय संगठनबारे पूर्व एमाले तर्फ विवाद देखिएका कारण पनि बुधबारको बैठक स्थगित भएको बुझिएको छ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया