पाकिस्तानमा गीत गाउन गएपछि मीका सिंहमाथि भारतीय सिने एसाेसियशनकाे प्रतिबन्ध

 साउन २९, २०७६ बुधबार १३:३८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफका आफन्तकी छोरीको विवाह समारोहमा गीत गाउन गएका भारतीय चर्चित गायक मीका सिंहको आलोचना भैरहेको छ ।

यसैबीच अल इण्डिया सिने वर्कर्स एसोसिएशन (एआईसीडब्ल्यूए) ले मीका सिंहलाई प्रतिबन्ध गरेको घोषणा गरेको छ । प्रतिबन्धको विषयमा बोर्डले सूचना सार्वजनिक गरेको छ । 

सार्वजनिक गरिएको सूचनामा लेखिएको छ, ‘पाकिस्तानको हाइप्रोफाइल परिवारको विवाह समारोहमा ८ अगष्ट २०१९ मा प्रस्तुति दिन गएका कारण अल इण्डिया सिने वर्कर्स एसोसिएशनले मीका सिंहलाई भारतीय फिल्म उद्योगमा प्रतिबन्ध गरेका छौँ ।

उनी पाकिस्तानका सेना प्रमुख परवेज मुशर्रफका आफन्तले आयोजना गरेको कार्यक्रममा प्रस्तुति दिन पाकिस्तान गएकाले फिल्म प्रोडक्सन हाउस, म्युजिक कम्पनी र अनलाइन म्युजिक प्रोभाइडर कम्पनीसँगको उनको सहकार्य तुरुन्त बहिष्कार गरिएको छ ।’

अल इण्डिया सिने वर्कर्स एसोसियशनको तर्फबाट मीका सिंहका साथ भारतमा कसैले पनि काम नगर्न आग्रह गरिएको छ ।  यदि कसैले मीका सिंहका साथ काम गरेको खण्डमा त्यसविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी पनि दिइएको छ ।

साथै बयानमा मीका सिंहको आलोचना गर्दै अहिले भारत र पाकिस्तानबीच तनावको स्थितिमा  मीकाले भारतको सम्मानभन्दा माथि पैसालाई राखेको बताइएको छ । साथै भारत सरकारसँग मीका सिंहविरुद्ध कडा कदम उठाउन माग गरिएको छ ।

मीका सिंहले पाकिस्तानमा पूर्व राष्ट्रपति परवेज मुशर्रफको आफन्तको विवाहको कार्यक्रममा गीत गाउँदै गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो । अधिकांश भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले मीका सिंहलाई कारबाही गर्नुका साथै उनलाई प्रतिबन्ध गर्नुपर्ने माग गरिरहेका थिए । 

भारतले जम्मू-कश्मीरमा धारा ३७० हटाएपछि पाकिस्तानले त्यसको विरोध गर्दै भारतीय चलचित्रहरुलाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानले भारत विरोधी कदम उठाइरहेका बेला मीका सिंह पाकिस्तानमै गएर कार्यक्रम गरेपछि उनको आलोचना भएको हो ।

यतिबेला भारतमा मीका सिंहको त्यस कदमलाई देशभक्तिसँग जोड्दै उनीमाथि प्रश्न उठाइँदैछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया