मैत्रीपूर्ण भलिबल खेलमा नेपालले अफगानिस्तानलाई हरायाे

 साउन २९, २०७६ बुधबार १८:४४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता अघिको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानविरुद्ध  जित निकालेको छ ।

तीन जना नयाँ खेलाडीले डेब्यू गरेको निकै रोमाञ्चक खेलको पहिलो सेट अफगानिस्तानले २५–२२ ले जितेको थियो । सेटको अन्तिममा केही गल्ती गर्दा नेपालले सेट गुमाएको थियो ।

तर दोस्रो सेटमा नेपालले सुधारिएको खेल खेल्यो । नेपालले सुरुवातदेखि नै अफगानिस्तानलाई दबाबमा राखेको थियो । अफगानिस्तानविरुद्ध अन्तिममा नेपाली स्पाइकरले राम्रो खेल्दा सेट २५–१७ ले जित्न सफल भयो ।

तेस्रो सेटमा पनि नेपाली टिमले आफ्नो लयलाई कायम राख्न सफल भयो । २२–२० को अवस्थामा रहेको खेलमा नेपालले सहज रुपमा २५–२१ ले जित्न सफल भयो । तेस्रो सेटमा नेपालका स्पाइकर र रिसिभर दुबैले राम्रो खेलेका थिए ।

चौथो सेटमा पनि नेपालले घरेलु दर्शक र कोर्टको फाइदा लिँदै सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्न सफल भयो । तर अफगानिस्तानले पनि निकै राम्रो प्रयास गरेको थियो । खेलको अन्तिममा नेपाली कप्तान इम राना मगर घाइते हुँदै कोर्टबाट बाहिरिएपछि नेपाल केही दबावमा आएको थियो । जसका कारण अफगानिस्तानले सेट २५–२३ ले जित्न सफल भयो ।

पाँचौ तथा अन्तिम सेटमा नेपालले सुरुवातमा नै तीन एकले अग्रता बनाएको थियो । नेपालले जितेको सेटमा अफगानिस्तानका खेलाडीले रेफ्रीको निर्णयमा केही आपत्ति जनाएका थिए । अन्तिम सेटमा नेपालले दुई अंकको अग्रता बनाएपछि दुई पटकको गल्तीका कारण खेल १०–१० को अवस्थामा पुगेको थियो । त्यसपछि पनि नेपालले आफ्नो प्रदर्शनलाई उत्कृष्ट राख्दै सेट १५–१३ ले जित्न सफल भयो ।

अन्तिममा अफगानिस्तानका खेलाडी केही रुष्ट देखिएका थिए । यो जितले नेपालले दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब नेपालले दोस्रो खेल बिहीबार दिउँसो ३ बजे खेल्नेछ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया