होन्डुरसमा फुटबल खेल अघि समर्थकबीच झडप हुँदा तीन जनाको ज्यान गयाे

 भदौ १, २०७६ आइतबार १५:१०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

होन्डुरसको राजधानी टिगुसिगाल्पामा शनिबार फुटबल म्याचअघि समर्थकबीच दोहोरो झडप हुँदा तीन जनाको ज्यान गएको छ ।

मोटागुवा र ओलिम्पियाबीचको म्याच हुनुभन्दा केही समय अघि समर्थहरुबीच झडप हुँदा थप १० जना घाइते भएका छन् । शनिबार साँझ मोटागुवाको टिमबसमा एक समूहले ढुंगा प्रहार गरेपछि झडप सुरु भएको थियो । खेलाडी चढेको बसमा ढुंगा हान्दा बसका सिसा फुटेर तीन जना खेलाडी समेत घाइते भए ।

त्यसपछि दुई टिमका समर्थकबीच रंगशाला अगाडि झडप भयाे र खेल स्थगित गरियो । बाहिर झडप सुरु भएपछि पदाधिकारीहरुले खेल स्थगित गरेका थिए ।

तीन जनाको मृत्यु भयो भने केहीमाथि गोली प्रहार गरिएको थियो । केही व्यक्तिमाथि छुरा समेत हानिएको थियो । तीन जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालका प्रवक्ताले बताएका छन् ।

झडप हुँदा १० हजारभन्दा बढी समर्थक त्यहाँ उपथित रहेको बताइएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रु ग्याँस प्रयोग गर्नुपरेको थियो । मोटागुवा क्लबले आक्रमणपछि घाइते खेलाडी र क्षतिग्रस्त बसको फोटो राखेर ट्वीट गरेको छ ।

घटनामा इमिलियो इजागुयरे, रोबर्टो मोरेरा र जोनाथन रुगियर नाम गरेका खेलाडी घाइते भएका थिए । ओलिम्पिया फुटबल क्लबका समर्थकमाथि कडा कारबाही हुनुपर्ने मोटागुवा क्लबको माग छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया