नेपाल-भारत सीमा समस्याका कारण इलाममा निर्माणाधीन 'भ्यू प्वाइन्ट टावर'काे काम राेकियाे

 भदौ ८, २०७६ आइतबार १९:५०:१९ | सुजता सुनुवार
unn.prixa.net

इलाम – नेपाल–भारत सीमा समस्याका कारण निर्माणाधीन 'भ्यू प्वाइन्ट टावर' को काम बीचमा नै रोकिएको छ । 

इलामको सन्दकपुर गाउँपालिका–२ र ४ मा रहेको पर्यटकीय गन्तव्य सन्दकपुरमा प्रदेश सरकारको सहयोगमा एक करोड रुपैयाँको लागतमा भ्यू प्वाइन्ट निर्माण सुरु गरिएको थियो । पर्यटक आकर्षणका लागि निर्माण थालिएको टावरको काम नेपाल–भारत सीमा क्षेत्रको दशगजा छुट्याउन नसकेकै कारणले रोकिएको गाउँपालिकाले जनाएको छ । 

निर्माणाधीन प्वाइन्टबाट मकालु, सगरमाथा, कञ्चनजङ्घा लगायतका पूर्वका धेरै हिमश्रृङ्खलाहरु र भारतका दार्जीलिङ, गान्टोक, सिक्किम, कालेङ्पुङ्ग लगायतका धेरै स्थानहरुको दृश्यावलोकन गर्न सकिन्छ । यस्तै सूर्योदय र सूर्यास्तका दृश्य र नेपालको तराईका भू–भाग विराटनगरसम्मका दृश्यलाई नियाल्न पाइन्छ । 

सीमा समस्याका कारण माइनाकुलर राख्ने, प्वाइन्ट वरिपरि स्टीलको रेलिङ्ग लगाउने, आउन जानका लागि गेट निर्माण गर्ने, काउण्टर निर्माण गर्नेलगायतका काम रोकिएको गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सन्दकपुरको जौबारी, मानेभञ्याङ्ग, गैरीबास, कैयाकट्टा, कालपोखरीलगायतका स्थानमा भारतीय सुरक्षा पोस्ट राखिएको छ तर नेपालको भने सन्दकपुरको सीमा समस्याका सम्पूर्ण कार्य सूर्योदय नगरपालिकाको पशुपतिनगरले हेर्नुपर्छ । व्यवस्थित सुरक्षा पोस्टको व्यवस्था नहुँदा स्थानीयले समस्या खेपिरहनु परेको छ ।’ 

‘सीमाको सुरक्षा हामीले गर्न सकिरहेका छैनौँ, त्यसैले विकास निर्माणका काम प्रभावित भएका छन्’, गुनासो पोख्दै उहाँले भन्नुभयो । नेपालीहरुकै पुर्जा भएको नेपाली भूभागमा भारतीय पक्षले विभिन्न भौतिक संरचना निर्माण गर्ने उहाँले बताउनु भयो । उपाध्यक्ष पराजुलीले भन्नुभयो, ‘सीमा सुरक्षाका काम संघीय सरकारको अधिकारभित्र पर्छ । हाम्रो पहुँचमा नभएकोले समस्यालाई तत्काल समाधान गर्न सकेका छैनौँ ।’ 

केही समयअघि मात्र सूर्योदय नगरपालिका–२ को चारमाइल हुँदै भारत जाने बाटोमा भारतीय सुरक्षा बलले खाडल खनेका थिए । जसले केही दिन तनावकै रुप लिएको थियो । दशगजामा खनिएको खाडल पुर्ने सहमतिपछि आवतजावत सुरु भएको थियो । इलाममा नेपाल–भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटरमा देखिने दुवै देशको सीमा क्षेत्र प्रस्ट नछुट्टिएका कारण यस्ता समस्या आएको थियो । 

यस्तै सन्दकपुर गाउँपालिकाको गैरीबास–कालपोखरी जोड्ने पर्यटन पदमार्ग निर्माण गर्दा भारतीय सीमा सुरक्षा बलका जवानले काम रोक्ने प्रयाससमेत गरेका थिए । स्थानीय सुरक्षा अधिकारीले स्थलगत अध्ययन गरेपछि भने रोकिएको काम फेरि सुरु भएको थियो ।

सीमा छुट्टिने स्पष्ट नक्सा नभएपछि दुवै देशका नागरिकले स्थायी संरचना निर्माण गर्दा समस्या खेप्दै आइरहनु परेको छ । तत्काल सीमाक्षेत्रको समस्या समाधानका लागि काम गर्न गृह मन्त्रालय र नापी विभागसँग अनुरोध गरेको गाउँपालिकाले जनाएको छ । 

सीमा क्षेत्र यकिन गर्ने दक्ष प्राविधिक सीमा प्रशासनमा नहुनु, स्पष्ट नक्सा अभाव, जीपीएसबाट सीमा क्षेत्र हेर्दा दशगजा ठम्याउन नसक्नु, भौगोलिक विकटताले सीमा पिल्लर जीर्ण भइ भत्किनु, दशगजामा खेतीपाती गरिनु दुवै देशको सीमानामा देखिएका समस्या हुन् । जसका कारण सीमा क्षेत्रमा घर, सडक र भौतिक पूर्वाधार निर्माणमा समस्या आउँदा काम नै रोकिँदै आएको सरोकारवाला बताउँछन् । 

सीमा क्षेत्र व्यवस्थित गर्न, सवारी साधन सीमा प्रशासन कार्यालयमा दक्ष प्राविधिकको दरबन्दी र भारतीय क्षेत्रमा पनि भन्सार कार्यालय राख्न पहल गरिनुपर्ने सीमा सुरक्षा पोस्ट पशुपतिनगरका प्रमुख संशाकध्वज कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सीमा क्षेत्रको साढे ५२ किलोमिटर क्षेत्रमा सडकको पहुँच छैन । सीमा क्षेत्रका कुनै ठाउँमा समस्या भए सुरक्षाकर्मी पुग्न घण्टौँ लाग्छ, यसमा प्राथमिकता दिइनु पर्दछ ।’ 

सरकारले इलामको पशुपतिनगरमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोस्ट स्थापना गरेको छ । हाल सीमा क्षेत्रमा आएका समस्या यही सुरक्षा पोष्टले हेर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया