ईपीएलका लागि भैरहवा ग्लाडियटर्सले प्रशिक्षकका रुपमा भित्र्यायाे पुबुदु दासानायकेलाई

 भदौ १७, २०७६ मंगलबार १७:३०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग क्रिकेट- ईपीएलका लागि भैरहवा ग्लाडियटर्सले नेपाली राष्ट्रिय टिम सम्हालिसकेका पूर्व प्रशिक्षक पुबुदु दाशानायकेलाई प्रशिक्षकको रुपमा ल्याएको छ ।

पुबुदुले भैरहवासँग २०२० सम्मका लागि सम्झौता गरेको जनाइएको छ । उनले २०१३ मा नेपाली टिम सम्हालेका थिए । डिभिजन ३ मा हुँदा नेपाली टिम सम्हालेका पुबुदुलाई अहिले नेपाली टिमले एक दिवसीय वरियता पाउँदा पनि त्यसको श्रेय जाने गरेको छ । उनको प्रशिक्षणमा नेपालले डिभिजन थ्री जितेको थियो भने बंगलादेशमा भएको टी २० विश्वकप पनि खेल्न योग्य पनि बनेकाे थियाे ।

नेपालसँग आफ्नो नाता नजिकको रहेको बताउने पुबुदुले अहिले पाएको जिम्मेवारी पूरा गर्न आफू तयार रहेको बताएका छन् । यस्तै भैरहवाका मालिक आदित्य संघाईले पुबुदुलाई फेरि नेपाल ल्याउनु आफूका लागि ठूलो सफलता भएको भन्दै यसले नेपाली क्रिकेटमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

टिम कप्तान शरद भेषावकरले पुबुदुबाट आफूहरुले विगतमा धेरै कुराहरु सिकेको र अझै पनि सिक्न आतुर रहेको उल्लेख गरे । लगातार २ सिजन उप विजेतामा सीमित भएको भैरहवा ग्लाडियटरले यस पटक उपाधि जित्ने लक्ष्य लिएको पनि बताए ।

अन्तिम अपडेट: भदौ १९, २०७६

तपाईको प्रतिक्रिया