भारतीय महिला क्रिकेटर मिताली राजद्वारा टी-ट्वान्टी अन्तर्राष्ट्रियबाट सन्यासकाे घाेषणा

 भदौ १७, २०७६ मंगलबार १९:२४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय महिला क्रिकेट टिमकी पूर्व कप्तान मिताली राजले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकी छिन् ।

मिताली भारतका लागि टी-ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले भारतका लागि ८९ टी-ट्वान्टीमा ३७.५२ को औसतले २ हजार ३ सय ६४ रन बनाएकी छिन् । जसमा उनले १७ अर्धशतक पनि बनाएकी थिइन् । उनले भारतीय टिमबाट २०१२, २०१४ र २०१६ को टी–२० विश्वकपमा कप्तानी गरेकी थिइन् ।

सन्यासबारे मितालीले भनिन्, ‘२००६ मा भारतका लागि डेब्यु गरेपछि आज टी-ट्वान्टीबाट बिदा हुँदैछु । टी-ट्वान्टीबाट सन्यास लिए पनि मेरो ध्यान २०२१ मा हुने एक दिवसीय विश्वकपमा केन्द्रित हुने छ।’ भारतका लागि विश्वकप जित्नु आफ्नाे सधैँको सपना रहेको बताउँदै मितालीले २०२१ मा सपनालाई साकार पार्न आफूले शतप्रतिशत योगदान गर्ने पनि बताइन् ।

उनले आसन्न महिला टिमको दक्षिण अफ्रिका भ्रमण सफल रहोस् भन्दै शुभकामना पनि दिइन् । साथै बीसीसीआईले अहिलेसम्म साथ दिएकोमा धन्यवाद समेत दिएकी छिन् ।

मितालीको सन्यासको घोषणापछि भारतीय सञ्चारमाध्यमहरुले भने आश्चर्य व्यक्त गरेका छन् । उनले आफैँ दक्षिण अफ्रिकाविरुद्धको सिरिजका लागि उपलब्ध हुने बताएकाले अहिले नै सन्यास घोषणा गर्लिन् भनेर कसैले कल्पनासम्म गरेका थिएनन् ।

उनको ब्याटिङका विषयमा भारतमा भने आलोचना भइरहकेो थियो । उनी गएकाे विश्वकपमा विवादमा समेत परेकी थिइन् । उनले आफू फिट हुँदाहुँदै पनि इंग्ल्याण्डविरुद्धको सेमिफाइनलमा नखेलाएको भन्दै प्रशिक्षक रमेश पवारमाथि आरोप लगाएकी थिइन् ।

पवारले मितालीको आरोप निराधार रहेको भन्दै छानबिन गर्न सजिलो बनाउने भन्दै भारतीय महिला टिमको प्रशिक्षकबाट समेत राजीनामा दिएका थिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया