काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
बैशाख १२, २०८१ बुधबार
कास्की - तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएको आरोप लागेका १४ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।
वंशजको आधारमा नागरिकता बनाइदिने प्रकरणमा बाबु बनेर सनाखत गर्ने पोखरा-१८ का लेखबहादुर थापा, नागरिकता लिने सरु थापामगर र तासी आङ्मो थापामगरसहित प्रकरणमा मुछिएका १४ जनाविरुद्ध मंलबार मुद्दा दर्ता गरिएको हाे ।
नागरिकता बनाउन सर्जमिन मुचुल्कामा दस्तखत गर्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापा, कमल थापा र इमा थापाविरुद्ध सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दर्ता भएको हो । पोखरा-१८ का वडाध्यक्ष रणबहादुर थापा, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत ऋषिराम आचार्य, नायब सुब्बा डाँसीराम लामिछाने, खरदार परशुराम पौडेल, रामचन्द्र थापा र पोखरा-१८ का पूर्व स्थानीय पञ्जिकाधिकारी विष्णुप्रसाद पौडेलविरुद्ध मुद्दा दर्ता भएको कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
जिल्ला प्रशासनका ५ कर्मचारी भने हालसम्म फरार रहेको उहाँको भनाइ छ । उनीहरुविरुद्ध विभिन्न मितिमा प्रहरीले कास्की अदालतबाट पक्राउ आदेश लिइसकेको छ ।
फरार हुनेमा जिल्ला प्रशासन कास्कीका अधिकृत ऋषिराम आचार्य, खरिदार परशुराम पौडेल र रामचन्द्र थापा, नासु डाँसीराम लामिछाने र पोखरा १८ नम्बर वडाका पूर्व स्थानीय पञ्जिकाधिकारी विष्णुप्रसाद पौडेल रहेका छन् ।
शर्माका अनुसार फरार बाहेक ९ जनाको बुधबार अथवा बिहीबार बयान लिइने र फरार ५ जनालाई म्याद जारी गरिनेछ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।