आर्थिक वृद्धिका लागि पूर्वाधार विकासमा सरकार र निजी क्षेत्र सँगसँगै : डा. भट्टराई

 भदौ २५, २०७६ बुधबार १२:१६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुई दिने नेपाल पूर्वाधार सम्मेलन काठमाडौमा सुरु भएको छ । नेपाल सरकार र नेपाल उद्योग परिसंघसहित विभिन्न संघसंस्थासँग मिलेर सम्मेलनको आयोजना गरिएको हो । 

सम्मेलनको प्रथम सत्रमा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा निजी क्षेत्रले लगानी साझेदारी गर्नसक्ने बताउनु भएको छ । द्रूतमार्गसँग जोडेर विमानस्थलमा लगानी गर्न उहाँले निजी क्षेत्रलाई आग्रह गर्नुभयो । 

अहिले काठमाण्डौमा केन्द्रित सहरीकरणलाई विकेन्द्रीकरण गर्न कम्तीमा तराई मधेशसँग जोड्नुपर्ने भन्दै उहाँले तराई क्षेत्रमा शहरीकरण बढाउन सकिने बताउनु भएको हो । ‘हामीले सुरुङ मार्ग बनाउन निजी क्षेत्रलाई दिएका हौं, तर त्यो बन्न सकेन’, उहाँले भन्नुभयो, ‘यसले हाम्रो निजी क्षेत्र अहिले पूर्वाधार परियोजनामा लगानी गर्न सक्ने अवस्थामा नपुगेको देखाउँछ ।’ 

नेता भट्टराईले बजारको विकास गर्न हरेक गाउँसम्म सडक सञ्जाल जोड्नुपर्ने बताउनु भयो । तराईमा निर्माणाधीन हुलाकी राजमार्ग र मध्य–पहाडी लोकमार्ग निर्माण सम्पन्न गर्ने र प्रकृतिले नै दिएको कोशी, गण्डकी र कर्णाली बेसिनका अधारमा उत्तर–दक्षिण राजमार्ग निर्माण गर्न सरकारले पहिलो प्राथमिकता दिनुपर्ने भट्टराईले धारणा राख्नुभयो । उहाँले कम्तीमा विकासोन्मुख अर्थतन्त्रमा स्तरोन्नति हुन नसक्दासम्म सरकारले नै पूर्वाधारमा लगानी गर्नुपर्ने उहाँले बताउनु भयो । 

अहिले विश्व चौथो औद्योगिक क्रान्तिको चरणमा रहे पनि नेपालले पहिलो औद्योगिक क्रान्तिसम्म गर्न नसकेको भट्टराईले बताउनुभयो । अहिले पनि निर्वाहमूखी कृषिमा आधारित अर्थतन्त्र भएकाले यसलाई उद्योग र सेवा, व्यवसायमा आधारित बनाउन सरकारले पूर्वाधार निर्माण र बजारीकरणको विकासमा काम गर्नुपर्ने उहाँको तर्क छ ।

निजी क्षेत्रले अहिलेको अवस्थामा ऊर्जामा लगानी बढाउने प्रशस्त सम्भावना रहेको उहाँले बताउनुभयो । भारत र चीनदेखि भुटान र बंगलादेशसम्म बजारीकरण गर्न क्षेत्रीय ‘कनेक्टिभिटी’ मा ध्यान दिनुपर्ने उहाँले बताउनु भएको छ । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पछिल्लो समय नेपालले श्रम ऐनदेखि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनलगायत थुप्रै कानुनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको बताउनु भयो ।

‘डुइङ विजनेस’ लाई सुधार गर्न नीतिगत र प्रक्रियागत सुधारमा लागिएको उहाँले बताउनुभयो । भारत, चीन, अमेरिका, नर्वेजस्ता मुलुकका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र अरु मुलुकका लगानीकर्ता पनि निरन्तर परियोजनाबारे छलफलमा आइरहेको उहाँले भन्नुभयो ।  

कार्यक्रममा एसियाली विकास बैंक (एडीबी) का महानिर्देशक वूचोङ उमले विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनका प्रभावलाई मध्यनजर गरेर ‘रेसिलियण्ट’ पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले ज्ञान, सीप, पैसा र प्रविधि लगानी गर्न सरकार र निजी क्षेत्रले सामूहिक प्रयास गर्नसक्ने धारणा राख्नुभयो । साथै एडीबीले नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी बढाउँदै गएको उहाँले बताउनु भयो । 

कार्यक्रममा  सीएनआईका उपाध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्व राजश्व सचिव लालशंकर घिमिरे, रकभिल्ड टेक्नोलोजी, अष्ट्रेलियाका सीईओ गोविन्द पाण्डे, एडीबीका पूर्व उपाध्यक्ष डा. विन्दु लोहनी लगायतले पछिल्लो समय नेपालमा लगानीको वातारण सुधार भैरहेको र लगानीका नयाँ विकल्पहरुको बारेमा छलफल बढ्दै गएको बताउनु भयो ।

उहाँहरुले भारतलगायत देशले अघि सारेका सार्वजनिक निजी साझेदारीका समस्याहरुबाट सिकेर अघि बढ्नुपर्ने बताउनुभयो । सूचना प्रविधिको विकास र प्रयोगलाई आत्मसाथ गर्दै दिगो पूर्वाधारमा लगानी बढाउन उहाँहरुले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया