भारतसँग जोडिएका सबै सीमा नाका बन्द गराैँ : नेकपा सांसद भुसाल

 भदौ २५, २०७६ बुधबार १३:५२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

सत्तारुढ नेकपा प्रतिनिधि सभाकी प्रभावशाली सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दाबी गर्दै सबै सीमा नाका बन्द गर्नुपर्ने तर्क गर्नु भएको हो । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न पनि दुई देशबीचको सीमा नाका बन्द गर्नुपर्ने बताउनुभयो ।

‘भारतीय सीमा सुरक्षा बलले जबरजस्ती नेपालको भूमि दैनिक मिटरमा र वर्षमा हजारौँ किलोमिटरका दरले मिच्ने गरेको छ’, सांसद भुसालले भन्नुभयो, ‘त्यसकारण त्यसलाई रोक्न पनि दुई देशबीचको सीमा नाका बन्द गर्नुपर्छ ।’ सांसद भुसालले दुई देशबीचको नागरिकलाई आवातजावतका लागि अनिवार्य परिचय–पत्रको व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडलले भने नेपाल–भारतबीचको सीमा नाका बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाउनुभयो । उहाँले भौगोलिक रुपमा पनि निकट सम्बन्ध रहेको दुई देशबीच सीमा नाका बन्द गर्न नमिल्ने उल्लेख गर्दै बरु भूमि मिच्न नदिन सरकारले भारत सरकारसँग तत्काल कुटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

नेपाल–भारतबीच भौगोलिक रुपमा समेत अति सामीप्यता भएकाले सीमा क्षेत्रमा काँडेतार लगाउने कुरा दुवै पक्षलाई मान्य नहुने उहाँको तर्क छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया