‘डेंगीको बारेमा यो सरकार बोल्दैन, अमेरिकाको सरकारले चाहिँ बोलिसक्याे’

 भदौ २६, २०७६ बिहिबार १६:३५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दलकै सांसदहरुले डेंगी संक्रमण नियन्त्रणमा सरकार संवेदनशील नबनेको भन्दै संघीय संसदको प्रतिनिधि सभामा सरकारको चर्को आलोचना गरेका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद कृष्ण गोपाल श्रेष्ठले डेंगी संक्रमणको भयबाट जनता आतंकित बन्दा पनि सरकार गम्भीर नबेनेको भन्दै यसबारे सत्य, तथ्य सदनलाई जानकारी गराउन स्वास्थ्य मन्त्रीलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिनिधि सभाको बैठकको शून्य र विशेष समयमा डेंगी संक्रमण नियन्त्रणका बारेमा आफूहरुले उठाउँदै आएको आवाजको सुनुवाइ नभएको भन्दै आक्रोशित बनेका सांसद श्रेष्ठ रुलिङ नभए आफूले विरोध जनाइरहने भन्दै सभामुखलाई रुलिङका लागि दबाव दिनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘डेंगी–डेंगी भनेर कराउँदा कराउँदै थाकिसक्यौँ । सभामुख महोदय, डेंगीको बारेमा यो सरकार बोल्दैन । अमेरिकाको सरकारले बोलिसक्याे ।अमेरिकनहरु नेपालम डेंगी आतंक छ नजानु, भएका अमेरिकन नागरिकहरु नेपालमा सचेत रहनु ।  यो भन्दा लाजमर्दो कुरा के हुन्छ सभामुख महोदय ? त्यसकारण सभामुख महोदयमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । मन्त्री डेंगी पीडित, आँखा विशेषज्ञ सन्दुक रुइत डेंगी पीडित ।'

उहाँले अगाडि भन्नुभयाे, 'अब हामीमध्ये कति जना सांसदलाई डेंगी भएपछि सरकारको ध्यान जाने हो, सभामुख महोदय ? अविलम्ब स्वास्थ्य मन्त्रीलाई तत्काल रुलिङ गरियोस् । अहिले नै स्वास्थ्यमन्त्री यहाँ आएर यसको बारेमा सरकारको आधिकारिक धारणा के हो ? डेंगी के हो ? कसरी लाग्छ ? उपचार कसरी गर्ने हो ? बच्ने उपाय के हो ? मरेका लाई के गर्ने ? सरकारको आधिकारिक धारणा ल्याइयोस् होइन भने मेरो विरोध रहनेछ । सभामुख महोदय, रुलिङ चाहन्छु ।’ 

नेकपाकै अर्का सांसद खगराज अधिकारीले पनि डेंगी प्रकोप हो या महामारी हो भन्ने स्पष्ट पार्न सरकारसँग माग गर्नुभयो । डेंगीको संक्रमण बढ्दै जाँदा पनि सरकार, स्वास्थ्य मन्त्रालय, इमिडियोमियोलोजी महाशाखालगायत सम्बन्धित निकाय गम्भीर बन्न नसकेको भन्दै उहाँले तत्काल डेंगी संक्रमणको भय समाप्त गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘महामारी हो भने सम्पूर्ण साधन स्रोतको परिचालन गरी ‘हेल्थ इमरजेन्सी’ घोषणा गरी महामारीलाई समाप्त पार्न पर्यो । प्रकोप हो भने इपिडियोमियोलोजी महाशाखा के हेरेर बसेको छ ? के सुतेर बसेको छ ? स्वास्थ्य मन्त्रालय के हेरेर बसेको छ ? जनतामा यो आतंक, भय तुरुन्त समाप्त पार्ने काम गरियोस् ।’

नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले डेंगीको प्रकोपले महामारीको रुप लिइसक्दा पनि सरकारले समस्या समाधानका लागि ठोस पहल नगर्दा सरकार जनताको स्वास्थ्यप्रति गम्भीर नभएको आरोप लगाउनुभयो ।

सांसदहरुले सदनलाई डेंगीको यथार्थ विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकषर्ण गराएपछि सभामुख कृष्णबहादुर महराले सरकार र स्वास्थ्य मन्त्रालयलाई रुलिङ गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘केही दिन यताको नियमित बैठकमा र विशेष गरेर आजको बैठकमा डेंगीको महामारी सम्बन्धमा माननीय सदस्यहरुको कुरा उठेको छ । यस सम्बन्धमा म सरकार र स्वास्थ्यमन्त्रीलाई विशेष ध्यानाकर्षण गराउँछु । साथै यस विषयमा सदनलाई यथाशीघ्र जानकारी गराउन निर्देशन गर्दछु ।’

केही दिनदेखि संघीय संसदका दुवै सदनको बैठकको विशेष र शून्य समयमा सांसदहरुले डेंगी संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै यथार्थ विवरण सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया