ट्रक चालक पाँच घण्टादेखि ट्रकमुनि, उद्धारमा समस्या

 असोज १८, २०७६ शनिबार ८:८:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा भएको सवारी दुर्घटनामा घाइते भएर च्यापिएका ट्रक चालकको उद्धारमा समस्या भएको छ । 

शनिबार बिहान भालुबाङबाट लमहीतर्फ जाँदै गरेको ना १ ख ४७९३ नम्बरको ट्रक र धनगढीबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ५२८३ नम्बरको बस राप्ती गाउँपालिका–२ को बराखुट्टीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । 

दुर्घटनामा परेर च्यापिएका ट्रक चालकको च्यापिएको पाँच घण्टा भैसक्दा पनि उद्धार हुन सकेको छैन । बस चालकको भने उद्धार गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । बस चालक घोडाघोडी नगरपालिका–१ निवासी २२ वर्षीय अरुण चौधरीको उद्धार गरिएको हो । 

ट्रक चालक अझै च्यापिएको र परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर च्यापिएका चालकको उद्धार गर्न उपकरण नहुँदा समस्या परेको हो । क्रेन र टोचन नहुँदा सामान्य ब्लेडले ट्रक काटेर उद्धार गर्दा धेरै समय लागेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा दुवै चालकसहित १३ जना यात्रु घाइते भएका छन् । जसमध्ये तीन जनालाई थप उपचारको लागि जिल्ला बाहिर लगिएको छ । १० जनाको राप्ति पोलिक्लनिक भालुबाङमा उपचार भैरहेकाे छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया