अर्काे पटक मुसिनाका आउँदा विकास लिएर आउँछु : सांसद चौधरी

 कात्तिक ९, २०७६ शनिबार २०:९:४९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको दक्षिणी सीमा क्षेत्रमा सदरमुकामबाट मुश्किलले ‘ठूला’ मान्छे पुग्छन् । भारतसँग सीमा जोडिएको यो क्षेत्र झण्डै ८२ किलोमिटरमा फैलिएको छ । 

नेपाल-भारत सीमा क्षेत्रमा मात्रै झण्डै दुई दर्जन नाकाका बस्ती छन् । दर्जनौँ साना गाउँ छन् । दाङको राजपुर र गढवा गाउँपालिकाका दक्षिणी भेगका गाउँ यो नाकामा पर्छन् ।

यिनै नाकामध्ये दाङको मुसिनाकामा पहिलो पटक पुग्नुभएका संघीय सांदस मेटमणि चौधरी अचम्म पर्नुभयो । मुसिनाकाको जनजीवन र विकासको गति देखेर आफू चिन्तित भएको उहाँले बताउनुभयो । 

जम्मा ३० घरधुरी संख्या रहेको मुसिनाकाका स्थानीयहरुसँग छलफल गर्दै सांसद चौधरीले दीर्घकालीन योजना बनाएर नाका क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । 

दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरी पहिलो पटक नाका क्षेत्रमा प्रवेश गर्नुभएको हो । सांसद चौधरीले नाका क्षेत्रका बाटोघाटो, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका विभिन्न मुख्य समस्याबारे स्थानीयहरुसँग छलफल गर्नुभयो । उहाँले भन्नुभयो, ‘म निर्वाचित भएपछि पहिलो पटक आउने मौका पाएँ । अब आउँदा विकास पनि लिएर आउँछु ।’

नाकामा एम्बुलेन्स विस्तार गर्ने

संघीय सांसद मेटमणि चौधरीले नाका क्षेत्रहरुमा एम्बुलेन्स सेवा विस्तार गर्ने बताउनुभयो । बिहीबार मुसिनाकाका स्थानीयहरुसँग छलफल गर्दै स्वास्थ्य सेवाबाट वञ्चित भएका नाकावासीलाई स्वास्थ्य क्षेत्रको पहुँचमा पुर्‍याउने उद्देश्यले नाका क्षेत्रहरुमा एम्बुलेन्स सेवा विस्तार गर्ने बताउनुभयो । 

‘भारतीय भूमि हुँदै कोइलावासदेखि जरूवा, टडवा, चिताैढगढ बन्धा जंगलको बाटो हुँदै केन्द्रीय सरकारले पहिलो प्राथमिकता बाटोलाई दिइएको छ । नाकाहरुमा ट्रयाक खोली नाकालाई सडक सञ्जालसँग जोडिनेछ’, उहाँले भन्नुभयो । 

सांसद चौधरीसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ निर्वाचन क्षेत्र नम्बर १ को संयोजक तथा जिल्ला कमिटी सचिवालय सदस्य मिना गुरूङ, गढवा गाउँपालिका नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी, नेकपा कोइलावासका अध्यक्ष खालिक सिद्दिकी, युवा नेता मोहम्मद याकुब, गौरवसिंह महराको संयुक्त सहभागितामा मुसिनाका पुग्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया