दाङको ३ (ख) मा मनोनयन दर्ता सकियाे: १४ उम्मेदवारले प्रतिष्पर्धा गर्ने

 कात्तिक २१, २०७६ बिहिबार १६:९:५८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङ जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर ३ ९२० को प्रदेश सभा सदस्यको उपनिर्वाचनमा भाग लिने १४ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश सभा उपनिर्वाचन,  मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा बिहीबार दिउँसो राजनीतिक दलका उम्मेदवार तथा केही स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट बिमला वली, नेपाली कांग्रेसबाट केशवराज शर्मा आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी रहेका छन् ।

त्यस्तै समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राप्रपाबाट भुपाल रावत, मंगोल नेशनल पार्टीबाट घनश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, साझा पार्टीबाट शिवकुमार चौधरी, नेपाली कांग्रेस (विपी विचार)बाट दीपककुमार धिताल तथा स्वतन्त्र रुपमा गोविन्द केसी र टीकाराम आचार्यको उम्मेदवारी परेको छ ।

राजपा नेपाल उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे पनि दर्ता नगराइ फर्किएको छ । राजपाले अन्तिममा आएर नेपाली कांग्रेसलाई समर्थन गर्ने भएपछि उम्मेदवारी दर्ता नगराएको जिल्ला अध्यक्ष ओमप्रकाश गुप्ताले जानकारी दिनुभयो ।

राजनीतिक दलका उम्मेदवार उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउन दलबल र बाजागाजासहित र्‍याली लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

मनोनयनका लागि बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिए पनि दलका केही उम्मेदवारको मनोनयन पत्र र मतदाता नामावलीमा नामनामेसी नमिल्दा निर्धारित समयभन्दा केही ढिला गरी मनोनयनको काम सकिएको थियो ।

मनोनयन दर्तापछि कार्यालयले मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरेको जनाएको छ । अब २२ गते शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, २३ गते शनिबार बिहान ११ बजेदेखि १ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरिने र त्यसै दिन २ बजेदेखि ५ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयाे ।

२४ गते आइतबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय ताेकिएको उहाँले बताउनुभयाे । त्यसै दिन २ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

२५ गते साेमबार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो।

दलको तर्फबाट उम्मेदवारी दर्ता गराउन पुगेका नेपाली कांग्रेसको प्रदेश सभा सदस्य उम्मेदवार केशव आचार्यले सबैको साथ र सहयाेगबाट चुनाव  जितेर दाङवासीको सेवा गर्ने बताउनुभयो ।

यस्तै, स्वर्गीय उत्तरकुमार वलीकी पत्नी बिमला वलीले उम्मेदवारी दर्ता गराएलगत्तै प्रदेश सभा सदस्यमा आफैँ जित्ने दावी गर्दै त्यस क्षेत्रको सुखदुखसँग नजिक रहेको र सिंंगो पार्टी र त्यहाँका नागरिककाे साथ आफूलाई रहेको अभिव्यक्ति दिनुभएको छ ।

उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएसँगै अहिले उम्मेदवार र राजनीतिक दल चुनावी प्रचार प्रसारमा जुटेका छन् ।

उम्मेदवारी दर्ता गराउन पुगेका उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृत थापाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरोकारवाला निकाय एवम् व्यक्तिले पालना गर्नुपर्ने निर्वाचन आचार संहिता, २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ का विषयमा सचेत हुँदै प्रचार प्रसारमा सहभागी बन्न आग्रह गर्नुभयाे ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया