सीमा क्षेत्रका बासिन्दाकाे पीडा : जुन खोलामा शव जलाउँछौँ, त्यही खोलाको पानी पिउँछौँ

 मंसिर २८, २०७६ शनिबार ६:५०:३९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत दाङका साना ठूला गरी ३४ वटा नाकामा २ हजारभन्दा बढी घरधुरी संख्याको १० हजार परिवार खोलाको पानी पिउन बाध्य छन् । 

पिउने पानीको अन्य स्रोत नहुँदा नाकावासीहरु खोलाको पानी पिउन बाध्य भएका हुन् । दाङको भारतसँग सीमा जोडिएको पूर्वदेखि पश्चिम नाकामा बसोबास गर्ने ठाउँमा पानीको समस्या रहेको राजपुर गाउँपालिका ७ भौवा नाकाका स्थानीय सन्तकुमार बुढाले जानकारी दिनुभयो ।

पानीको समस्या समाधानका लागि पटक पटक पहल गरे पनि सुनुवाइ नभएको उहाँको गुनासो थियो ।  ‘पालिकाको चुनावमा पनि पानीको समस्या उठाइएको थियो’, बुढाले भन्नुभयो,  ‘आश्वासन त पाइयो तर पानीको समस्या समाधान भएको छैन ।’

अझ वर्षायामका समयमा त आकाशे पानी थापेर प्रयोगमा ल्याइने गरिन्छ । गाउँपालिका क्षेत्रभित्र नाकावासीहरुले वर्षौंदेखि पानीको समस्या भोग्दै आएको अर्का स्थानीय मंगला खत्रीले बताउनु भयो । 

त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी हेमराज गिरीले पीडा पोख्नुभयो, ‘यही खोलामा शव जलाउने गरेका छौँ, यही खोलाको पानी पिउन बाध्य छौँ । अंगार पन्छाएर पानी पिउनुपर्छ । वर्षात लागेपछि नदीको पानी धमिलो हुन्छ ।’ 

पानीको विकल्प नभएपछि त्यही पानी पिउनु परेको नाकावासीहरुको भनाइ छ । वर्षातमा नाकाका खहरे खोलाहरुको पानी पिउन योग्य हुँदैन । 

हिउँदमा खोलाको पानी सङ्लो भए पनि मसिनो ढुङ्गाका कणहरु देखिन्छ । विकल्प नहुँदा पुस्तौदेखि खहरे खोलाको पानी पिउन बाध्य रहेको पटौलीनाका हेमराज गिरीले गुनासो पोख्नुभयो । 

गिरीले भन्नुभयो, ‘नगरवासीहरुले पुस्तौदेखि धमिलो पानी पिउँदै आएका छन् । नजिकै खोला र कुवा पनि छैन । त्यसैले नदीको धमिलो पानीको भर पर्नुको विकल्प छैन ।’ 

अन्तिम अपडेट: चैत ४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया