हामीसँग माटो, पानी र जनशक्ति छन्, सरकारले प्रविधि र वित्तीय पहुँच बढाइदिनुपर्छ

 बैशाख ३१, २०७७ बुधबार १४:१२:५५ | डा. चन्द्रमणि अधिकारी
unn.prixa.net

काठमाण्डौ - अहिलेको कोरोना सङ्क्रमणको कारणले आम मानिसको जीवन जोखिममा परेको छ  । लाखौँ मानिसले ज्यान गुमाएका छन् । यसको साथसाथै ठूलो आर्थिक क्षति पनि भएको छ । संसारको पुरै ध्यान कोरोना नियन्त्रणमा केन्द्रित भएको बेला कोरोनाबाहेकका रोग लागेकाहरुको जीवन झन् जोखिममा परेको छ ।

यस्तै पर्यटन, वैदेशिक रोजगारी, उद्योग, हवाई यातायात र शैक्षिक संस्थालगायत सम्पूर्ण आर्थिक क्रियाकलाप जोखिममा परेका छन् । कृषि पनि आंशिक रुपमा मात्रै चलेको हुनाले धेरै मानिसलाई आफ्नो कामबाट बाहिर बस्नुपरेको छ ।

निम्न आय भएका मानिसहरु, जसले आजै कमाएर आजै खानुपर्दछ, वा आज कमाएर दुई तीन दिन खान सक्दछन्, त्यस्ता वर्गको जीवन जोखिममा परेको छ । अहिले उनीहरु भोकै पर्ने स्थिति सिर्जना भएको छ । वैदेशिक रोजगारीमा गएकाहरुले रोजगारी गुमाएको अवस्था छ । नेपालभित्रै रहेकामध्ये २५ लाखभन्दा बढी मानिसहरु कामभन्दा बाहिर बस्नुपरेको स्थिति छ । 

यसले गर्दा मानिसहरुमा चिन्ता बढ्दै छ । अब मेरो भविष्य के हुने, आय आर्जनको बाटो कसरी अपनाउने भनेर चिन्ता बढेको छ । यस्तो महामारीको अवस्थामा हामीले कतिपय कुरा सरकारबाट अपेक्षा गर्छौं, त्यो स्वभाविक पनि हो । सरकार संरक्षक हो, अभिभावक पनि हो । तर कहिलेकाहीँ के भनिन्छ भने डाक्टर छ, उपचार पनि छ तर टाढा छ भने त्यो अवस्थामा आफूलाई लागेको रोग र चोटको उपचार आफैँले गर्नुपर्छ । त्यसैले सरकारलाई घचघच्याउने कामसँगै त्यो चोटको उपचार आफैँले पनि खोज्नुपर्दछ । अहिले हाम्रो देशमा पर्यटन क्षेत्रअन्तर्गत हवाई क्षेत्र, होटल र रेस्टुरेन्टमा रहेका मजदुरहरुले जागिर गुमाएका छन् ।

पर्यटन क्षेत्रको चरित्र अलि फरक भएकोले पर्यटन क्षेत्र हिजैको अवस्थामा पुग्न अलि बढी समय लाग्न सक्छ । त्यसैगरी उद्योगहरुमा जागिर गुमाएका छन् । भोलिका दिनमा केही उद्योगहरु चल्न सक्छन् र केही बन्द हुने स्थिति पनि आउला । त्यस्तै शिक्षा क्षेत्रमा पनि ठूलो जनशक्ति छ । कोरोनाबाट बालबालिका र विद्यार्थीको जीवन सुरक्षित छ है भनेपछि मात्र ती चल्ने हुन् । यो क्षेत्रमा पर्यटनभन्दा अलि कम समय लाग्ने देखिन्छ । त्यसकारण मानिसले रोजगारी गुमाएको र आम्दानी घटेका क्षेत्रहरुको लागि सरकारले वैकल्पिक उपाय खोज्नुपर्ने हुन्छ ।

सुरुमा सरकारलेभन्दा व्यक्ति आफैँले उपाय खोज्नुपर्ने हुन्छ । जस्तो पर्यटन क्षेत्रमा रोजारी गुमाएका मानिसले कृषि र पशुपालनलगायत जहाँ आफूलाई राम्रो लाग्छ त्यहाँ काम गर्न सक्छन् । यस्तै पोल्ट्रीको काम पनि हुन सक्छ । आफ्नो चासोअनुसार आफूलाई कुन क्षेत्रमा लैजाने भनेर सम्बन्धित व्यक्तिले तयारी गर्नुपर्ने देखिन्छ । 

विदेशबाट फर्किने र नेपालमै रहेकाहरुले यस विषयमा ध्यान दिनुपर्ने हुन्छ । विदेशमा गरेको काम नेपालमा पाइन्छ कि पाइँदैन भनेर बुझ्नुपर्यो । जस्तो पोल्ट्री फर्म, सपिङ मल वा निर्माण क्षेत्रमध्ये कुन काम आफूलाई ठिक लाग्छ त्यही आधारमा काम गर्नुपर्ने हुन्छ । त्यही भएर यस्ता कुरा व्यक्ति व्यक्तिमा मूल्याङ्कन गर्नुपर्छ । 

स्वदेश फर्केका कतिपयको जग्गाजमिन छैन होला । तर कतिपयसँग जग्गाजमिन छ । त्यस्ता जग्गामा के उत्पादन गर्न सकिन्छ त्यसको आधारमा त्यहाँ विभिन्न तरकारीदेखि फलफूल खेती गर्न सकिन्छ । त्यसलाई व्यवसायिक ढङ्गले अगाडि बढाएर परिवारका मान्छेलाई पनि त्यहीँ रोजगारी दिन सकिन्छ । 
अहिलेको यो अवस्था अवसर पनि हो । यसको प्रभाव भारत र अमेरिकालगायत विश्वमै परेको छ । अमेरिकामा साढे दुई करोड मान्छेले रोजगारी गुमाएका छन् । भनेपछि त्यहाँ पनि केही नेपाली पर्लान् । यस्तै खाडीमा पनि तेलको मूल्य घटेको छ । उनीहरुको आम्दानी घटेको छ । त्यसकारण त्यहाँ निर्माण काम पनि कम होलान् । त्यहाँ रहेका नेपाली श्रमिकहरु पनि आफ्नो देश फर्किनुपर्ने हुनसक्छ । त्यसकारण यो प्रभाव सबैतिर परेको भएकाले सबै देशले आफ्नो देशको नागरिकलाई जोगाउन खोज्छ । 

हामी भारतबाट तरकारी, खाद्यान्न, फलफूल र औषधिलगायत धेरै कुरा आयात गरेर खाइरहेका छौँ । अब भारतले त्यो रोक्न सक्छ । हामीले आफैँले तरकारी र फलफूल खेती गर्यौँ भने त्यो अभावलाई पूर्ति गर्न सकिन्छ । 
फलफूलमा किवी, एभोकाडो र केरालगायत विभिन्न फलफूल र तरकारी उत्पादनको लागि त्यसको बजार व्यवस्थापनको जिम्मा स्थानीय सरकारले लिनुपर्यो । 
अब जीवनसँग भागेर भएन । हिजोको काम भएनभन्दा पनि अर्को के काम गर्न सकिन्छ भनेर विकल्प खोज्ने हो । हिजो कुनै ठाउँमा बसेर एक प्रकारको काम गरिएको थियो । तर अब त्यो ठाउँ, त्यो काम छोड्नुपर्ने हुन सक्छ । त्यही भएर अब हरेक युवाले आफूसँग हातपाखुरा छन्, ज्ञान छ र साधनस्रोत जुटाउन सक्छु भन्ने आकलन गर्नुपर्ने देखिन्छ ।

हिजोको हाम्रो अर्थव्यवस्था पारिवारिक श्रम संरचनामा आधारित थियो । एउटै घरमा धेरै जना बस्ने र भैँसी, बाख्रा र कुखुरा पाल्ने काम गरिन्थ्यो । एउटै बारीमा तरकारी लगाइन्थ्यो, मसला लगाइन्थ्यो  र लसुन, धनियाँ पनि लगाइन्थ्यो ।

‘काठमाण्डौको खेती हुन्छ यतियति, एकछेउमा जिरा एकछेउमा मेथी, एकछेउमा चम्सुर’ भन्ने गीत नै छ ।  

हिजोको खेती प्रणालीलाई हामीले छोडिदियौँ । तर त्यसको विकल्पमा नयाँ खेती प्रणाली ल्याएनौँ । अहिले हामीले धनियाँ र लसुनलगायत सबै तरकारी बाहिरबाट ल्याउछौँ । आजभन्दा २५ वर्ष अगाडि नेपालबाट लसुन र धनियाँ तिब्बत जान्थ्यो । अहिले हामीले त्यहाँबाट ल्याउनुपरेको छ । नेपालको स्याउ बाहिर निर्यात हुन्थ्यो तर अहिले हामीले बाहिरबाट स्याउ नेपाल ल्याउनुपरेको छ ।

हाम्रो आन्तरिक द्वन्द्वको कारण जीउ जोगाउनको लागि गाउँबाट भागेर जानुपर्ने स्थिति जुन बनेको थियो त्यसलाई फर्काउनुपर्यो । त्यसरी फर्काउँदा हिजोको जस्तो कुटो, कोदालो र डोको प्रयोग गरेर मात्र हुँदैन । नयाँ प्रविधि र उपाय अपनाउनुपर्छ । उत्पादित सामग्री जस्ताको त्यस्तै बजारसम्म पुर्याउन सकिने व्यवस्था हुनुपर्यो । 

त्यसको लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले सहजीकरण गरिदियो भने उत्पादित वस्तुमा व्यवसायीकरण सुरु हुन्छ । सुरुमा बाँच्नकै लागि र बिस्तारै त्यसलाई उद्योगको रुपमा विस्तार गर्ने हो । 

कोरोना महामारीले जङ्क फुड खाँदा रोगप्रतिरोधी क्षमता कम हुँदोरहेछ भन्ने कुरा प्रमाणित भयो । नेपालमै पनि भोलि पर्यटकहरु आउन थालेपछि उनीहरुले यस्तै खानेकुरा खोज्नेछन् । त्यही भएर यो महामारीपछि जीवनशैली र खानेकुरालगायत आर्थिक मात्र होइन, सामाजिक कुरामा पनि परिवर्तन आउने देखिन्छ । 
त्यसले यी कुराको मूल्याङ्कन गर्यो भने व्यक्ति आफैँले त्यो बाटो खोज्न सक्छ । के सहर, के गाउँ सबै क्षेत्रमा अवसरहरु आउन सक्छन् । सुरुमा आफूसँग जे छ त्यो साधनबाट काम गर्ने र पछि बिस्तारै प्रविधिसित जोड्ने, बजारसँग जोड्ने गरेर विस्तार गर्नुपर्छ । अनलाइनबाट पनि व्यवसायलाई प्रवद्र्धन गर्न सकिन्छ । त्यसकारण हिजोको रमझम आउनसक्ने सम्भावना कम भएकाले युवाहरुले अहिलेदेखि नै आफूलाई व्यक्तिगत हिसाबले र साथीभाइ, परिवारसँग मिलेर भविष्यमा के गर्ने भनेर मार्गचित्र तयार पार्ने काम गर्नुपर्छ । 

यस्ता उत्साहित युवाहरुलाई बाटो देखाउने र आवश्यक सरसहयोग गर्ने जिम्मा स्थानीय सरकारहरुकै हो । राज्यले नीतिमै परिवर्तन गरेर, वित्तीय प्रबन्धहरु थप दिएर, वित्तीय पहुँचहरु बढाइदिएर काम गर्नुपर्ने हुन्छ ।

नेपालमा तीन कुरा छन् – मान्छे, माटो र पानी । नेपालमा पर्याप्त जनशक्ति छ । अझै बाहिर रहेको जनशक्ति नेपाल फर्किसकेपछि र नेपालभित्रै वार्षिक उत्पादन हुने ४/५ लाख जनशक्तिकोे उचित व्यवस्थापन सरकारले गर्यो भने त्यसलाई उत्पादनमा लगाएर एउटा अवसरको रुपमा परिवर्तन गर्न सकिन्छ । 
वैदेशिक रोजगारी गुमेपछि पक्कै पनि रेमिट्यान्स कम हुन्छ । विदेश जानको लागि जुन नेपाली मुद्रा खर्च गर्छौँ त्यो अब खर्च हुँदैन । विदेशबाट आउने रेमिट्यान्सको परिपूर्ति गर्न यहीँ उत्पादन गर्नुपर्ने हुन्छ । तर सरकारले त्यो गर्न सकेन भने सामाजिक वितण्डाहरु आउन सक्छन् । सुरक्षामा प्रश्न आउन सक्छ । राज्यले त्यो विषयमा हेर्नुपर्यो ।

युवाहरुले आफैँले आफ्नो बलबुत्ताले गरेको व्यवसायमा राज्यले सहयोग गरिदिनुपर्यो । त्यसको व्यवस्थापन, साधनस्रोतको जोहो र त्यसमा प्रविधिको प्रयोगको लागिसरकारले व्यवस्था गरिदिनुपर्यो । मैले अघि भनेजस्तै हामीसित माटो, पानी र जनशक्ति तीनओटा कुरा छ । तर त्यसमा सरकारले प्रविधि र वित्तीय पहुँच जोडिदियो भने हामीले उत्पादन बढाउन सक्छौँ । यसले रोजगारी बढ्छ । हातमा काम आएपछि गोजीमा दाम पनि आउछ र चिन्ता पनि घट्छ । 

(कुराकानीमा आधारित)

अन्तिम अपडेट: जेठ २४, २०७७

डा. चन्द्रमणि अधिकारी

डा. अधिकारी अर्थविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया